काठमाडौं । समयमा सरुवा–बढुवाका निर्णय हुन नसक्दा नेपाल प्रहरीका महत्वपूर्ण कार्यालयहरू निमित्तको भरमा चलेका छन् । भरतपुर शिक्षालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा यस्तो अवस्था छ ।
भरतपुर शिक्षालयका समादेशक रहेका डीआईजी राजेश बाँस्तोलाले गत कात्तिक ११ मै अवकाश पाएका हुन् । त्यसयता शिक्षालय एसपी भरतबहादुर विकले हाँकिरहेका छन् । दुई महिना कट्दा पनि गृह मन्त्रालयले शिक्षालयमा नयाँ डीआईजी पठाउन सकेको छैन ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमाण्ड एसपी गोविन्द अधिकारीले हाँकिरहेका छन् । त्यहाँ कार्यरत डीआईजीको रुपमा कार्यरत किरण राणा एआईजीमा बढुवा भएर अवकाश पाइसकेकी छिन् ।
त्यसपछि एसएसपी डम्बर विक निमित्त कार्यालय प्रमुख भएका थिए । उनी पनि डीआईजीमा बढुवा भएर अन्यत्र गइसकेका छन् । जसकारण एसपी अधिकारी त्यहाँको निमित्त प्रमुख बनेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अवस्था पनि त्यस्तै छ । त्यहाँ कार्यरत डीआईजी भरतबहादुर बोहरा एआईजीमा बढुवा भएर अवकाश पाइसकेका छन् ।
त्यहाँ कार्यरत एसएसपी उमाप्रसाद चतुर्वेदी पनि डीआईजी भए । जसकारण एसपी संजय राउत कार्यालयको निमित्त प्रमुख बनेका छन् ।
अझै केही हप्ता यी कार्यालयहरु निमित्तकै भरमा चल्ने देखिन्छ । किनकी डीआईजीमा तत्काल बढुवाको सम्भावना देखिएको छैन ।
भरतपुर तालिम केन्द्रमा डीआईजीकै दरबन्दी छ भने विमानस्थल र ट्राफिकमा एसएसपीको दरबन्दी भएपनि डीआईजी काजमा खटिदै आएका छन् ।
प्रहरीमा हाल दुई एआईजी र पाँच डीआईजीको दरबन्दी खाली छ । बढुवा सिफारिस भएको एक सातापछि मात्र बढुवा हुन्छ । बढुवा भएपछि पनि पदस्थापनमा समय लाग्ने भएकाले प्रहरीका महत्वपूर्ण कार्यालयमा निमित्तका भरमा चलेका हुन्।
उता, काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि मंगलबारदेखि निमित्तको कमाण्डमा पुगेको छ । त्यहाँ कार्यरत एआईजी किरण बज्राचार्यले अवकाश पाएकी छिन् । डीआईजी ध्रुवराज राउत निमित्त प्रमुख बनेका छन्।
Leave a Reply