काठमाडौं । नेपालमा आज साँझदेखि अर्को मौसम प्रणाली भित्रिने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम र कर्णालीका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ’, विभागको सूचनामा भनिएको छ ।
Leave a Reply