काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् ।
बुधबार बसेको सचिवालय बैठकले पार्टी अनुशासन पालना नगरेको लगायत कारण देखाउँदै उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि एमालेमा जिम्मेवारी विहीन रहेका रावललाई बुधबार साधारण सदस्यबाट समेत हटाएपछि अब उनको राजनीतिक भविष्य कता जान्छ भन्ने जनचासो बढेको छ । उनी अब एकीकृत समाजवादीमा प्रवेश गर्नेदेखि नयाँ पार्टी खोल्नेसम्म चर्चा छ ।
तर रावल जनताले जे भन्छन् त्यहीँ अनुसार अघि बढ्ने बताउँदै आएका छन् । यद्यपि अहिलेसम्म नयाँ पार्टी खोल्न विषयमा आफूले सोचिनसकेको उनको जिकिर छ । उनले आफूमाथिको कारबाही अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको दाबी गरे ।
सुदूरपश्चिमको आवाज संसदमा घन्काउने र देशभक्तिपूर्ण आवाज उठाउनेलाई ओलीले दबाएको उनको भनाइ छ । एमालेलाई केपी ओलीले बा’माले बनाए उनको आरोप छ ।
‘आगामी दिनमा कसरी जाने भन्नेबारे अछाम आएपछि त्यहाँका जनता र साथीहरूसँग छलफल गर्छु, मलाई साथ दिनुहोस् म नेतृत्व लिन तयार छु,’ उनले भने । केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर आफूलाई कारबाही गरेको उनको दाबी छ ।
अब फेरि महाधिवेशन आउँदै छ त्यसमा पनि भीम रावलले टक्कर दिन्छ भनेर आफूलाई पार्टीबाटै हटाइएको उनको भनाइ छ । साथै आफू विचलित नहुने भन्दै अछामी जनतालाई आफ्नो उभिन उनले आह्वान गरे ।
साथै उनले भने, ‘म नेतृत्व लिन तयार छु, मलाई साथ दिनुहोस्, विचलित नहुनुहोस्, दृढतापूर्वक न्याय र सत्यको पक्षमा उभिन म आह्वान गर्न चाहन्छु । गाउँ वस्तिमा एमाले होइन बामाले बनाउन चाहनेलाई अस्वीकार गर्नुस् ।’
रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएपछि अहिले एमाले नेतृत्वको चर्को आलोचना भइरहेको छ । अब सुदूरपश्चिमसहित अन्य प्रदेशमा पनि एमालेलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।
Leave a Reply