काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा आजदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।
पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेपछि सोमबार थुनछेक बहस शुरु हुने भएको हो ।
सहकारीको रकम अपचलनको आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले त्यसयता हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा लामछिानेसहति ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।
लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा आजदेखि थुनछेक बहस हुनेछ । त्योभन्दा अगाडि जिल्ला अदालत कास्कीको कार्यालयमा कुन न्यायाधीशको इजलासमा बहस हुने त्यसका लागि गोलाप्रथाद्वारा पेसी तोकिनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ।
Leave a Reply