काठमाडौं । कास्की प्रहरीको हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्विर उनकै समर्थक डा.निकोलस भुसालले खिचेको खुलासा भएको छ ।
लामिछानेका समर्थक भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका हुन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।
भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको भन्दै फेसबुकमा लेखेका छन्, ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ । यसवाफत नेपाल नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।
Leave a Reply