काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले कुवेत पुर्याएर मानव बेचबिखन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टिकाराम तामाङ रहेका छन्।
ब्यूरोका अनुसार उनीहरुले एक महिलालाई फ्रि भिषा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने कुवेत देशमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएको खुलेको छ।
जाहेरवालालाई २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्याई दुबईबाट भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याई कुवेती घर मालिकलाई ९०० केडिमा बेचबिखन गरेको खुलेको छ।
कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा जाहेरवाला त्यहाँबाट फुत्केर भागेपश्चात् कुवेतको प्रहरीले नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाई दिई २०८१ कात्तिक ९ गते नेपाल फर्किएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका थिए।
यस कसूरमा संलग्न धर्मलाई लम्जुङको मर्स्याङदी गाउँपालिका-३ बाट टिकारामलाई पोखराको लामाचौरबाट पक्राउ गरिएको हो।
दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
Leave a Reply