काठमाडौं । पोखराबाट पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरिएको छ ।
पर्सास्थित सानोपाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग आजबाट बयान सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् ।
तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
Leave a Reply