काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
सभापति लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको हो ।
सभापति लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको रास्वपाले दिएको उजुरीमा उल्लेख गरिएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ ।
राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ । २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ ।
उजुरीमा भनिएको छ, ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ।’
राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।
लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् ।
निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग राखिएको छ ।
राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानित आयोगबाट सक्रिय कदम चाल्न रास्वपाले आग्रह गरेको छ ।
Leave a Reply