काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज हेग प्रस्थान गर्ने भएकी छन् ।
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको भनाइ राख्न उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
नेदरल्यान्डको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायालयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ । जलवायु परिवर्तनमा राज्यको भूमिका के हुने भन्ने विषयमा विश्वका ९८ देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले यो सुनुवाइमा भाग लिँदैछन् ।
परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात् सोमबार दिनको साढे ३ देखि ४ बजेसम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्ने समयसारिणी तोकिएको छ।
जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित राष्ट्रले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने, जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावितहरूप्रति राज्यको दायित्व हुनुपर्नेमा जोड दिने नेपालको तयारी छ।
Leave a Reply