काठमाडौं । सशस्त्र प्रहरी बलको बन्दोबस्तीका सामानको ठेक्कामा केही ठेकेदारको सिन्डीकेट चल्दैआएको छ । शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक र गणेशबहादुर मल्ल केन्द्रीय लेखाको इन्स्पेक्टर भएदेखि नै सशस्त्रको खरिदमा सीमित ठेकेदारको सिन्डीकेट चलिरहेको छ ।
प्रबन्धका एसएसपी दीपेन्द्र कुँवर नै विगत ६ बर्षदेखि सशस्त्रको खरिदको हर्ताकर्ता रहँदैआएका छन् । खनालको पालामा पनि कुँवर हावी थिए, राजु अर्याल आईजीपी भएपछि पनि उनै सर्वशक्तिमान प्रबन्धका हाकिम हुन् ।
एसएसपी कुँवरको सेटिङ अनुसार नै सशस्त्रको खरिदको ठेक्का सीमित ठेकेदारले पाउने गरेका छन् । सशस्त्रको प्रबन्धका हाकिमहरुको सेटिङको जालो यस्तो छ कि पारदर्शी रुपमा कम दरमा गुणस्तरीय सामान आपूर्ति गर्छु भन्ने ठेकेदारहरुले ठेक्का नै नपाउने अवस्था छ ।
सशस्त्रमा लत्ताकपडा खरिदमात्रै बार्षिक करिब ७५ करोड रुपैयाँको हुने गरेको छ । यो ठेक्का कुँवरसँग सेटिङ भएका सीमित ठेकेदारले मात्रै पाउँदैआएका छन् ।
शैलेन्द्र खनाल आईजीपी भएदेखिको खरिदको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने हो भने निश्चित ठेकेदारले मात्र कुँवरसँग सेटिङ गरी खरिद गरेको पुष्टि हुने सशस्त्रका अधिकारी बताउँछन् ।
सिपाहीले लगाएको केही दिनमै खुइलिने चुस्ता खरिद गरी सशस्त्रमा घोटाला हुँदैआएको छ । चुस्ता एक उदाहरण हो, सशस्त्रमा सेटिङ गरी खरिदमा एउटा नमूना पेश गर्ने र आपूर्ति अर्कै गरी भ्रष्टाचार हुँदैआएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवका स्वकीय सचिव समेत रहेका उनका भतिजा भानु देउवाका बहिनीज्वाइँ दीपेन्द्र कुँवरले सशस्त्रका खरिदमा सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरे पनि सरोकारवाला निकायले उनको छानबिन गर्ने हिम्मत गर्न सकेका छैनन् ।
सेवाग्राहीले खुसीले दिएको ३ हजारदेखि ५ हजार घुस लिने कार्यालयका कर्मचारीलाई पक्राउ गर्ने अख्तियारले ६ बर्षदेखि बार्षिक ७५ करोडको खरिदमा सेटिङ गरी २० प्रतिशतसम्म घुस लिनेमाथि भने दृष्टि पुर्याउन सकेको छैन ।
यसैबीच, सेटिङ नमिलेपछि रद्द भएको जंगल ह्याटको टेण्डर पुनः खोलिएको छ । र, यो पटक टोपेन्द्र बीसीको तेजसम इन्टरप्राइजेजले पाउने भएको छ । १ हजार ७ सय जंगल ह्याटको टेण्डर यसअघि रद्द गरिएको थियो ।
प्रल्हाद खतिवडाको कम्पनीले कमदरमा टेण्डर बिट गरेको थियो । तर प्रतिस्पर्धामा कम दरमा बोलपत्र पेश गरेको खतिवडाको कम्पनीलाई दिंदा कमिसन नपाउने भएपछि टेण्डर रद्द गरिएको थियो ।
यो पटक बीसीको तेजसमले नै पाउने गरी सेटिङ भइसकेकाले २०८१ मंसिर १० गतेको खुलेको टेण्डरमा अरु ठेकेदारहरुले चासो नै राखेनन् । प्रबन्धबाट पहिले नै तेजसमका बीसीलाई ठेक्का दिने हल्ला चलाइएको थियो । तेजसमकै नमूना अनुसार स्पेक मिलाएर उनलाई ठेक्का दिने पक्का भइसकेको स्रोत बताउँछ ।
टेलिकमका स्थायी जागिरे टोपेन्द्र बीसी सेना, प्रहरी र सशस्त्र प्रहरीका ठेकेदार हुन् । श्रीमती र सालो समुद्र खड्काका नाममा कम्पनी दर्ता गरी उनले ठेक्का लिने गरेका छन् । बोलपत्र पेश गर्ने, ठेक्का सम्झौता गर्नेदेखि सबै काममा उनै बीसी जाने गरेका छन् ।
अख्तियारले यसअघि नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी भएर ठेक्कापट्टा गरेको पाइएपछि इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध २०८० चैत ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएपछि सिटौलाबिरुद्ध मुद्दा दायर गरेको थियो । तर टोपेन्द्र बीसीले सालो र श्रीमतीको नाममा कम्पनी दर्ता गरी सबै काम आफैंले गर्दा पनि उनलाई भने अहिलेसम्म छानबिन हुन सकेको छैन ।
सशस्त्रका अधिकारी भन्छन्–‘सशस्त्र प्रहरीको मूलगेट र प्रबन्धको सीसीटीभी फुटेज हेर्ने हो भने बीसी पटक पटक त्यहाँ ठेक्काको काम गर्न गएको पुष्टि हुनेछ ।’
स्रोतका अनुसार हात्तीगौंडामा सँगै घर भएका प्रबन्धका एसएसपी कुँवर र तेजसमका बीसी हप्तामा ३ पटकसम्म महाराजगंजको हिमालयन जाभामा कफी मिटिङ गर्ने गरेका छन् ।
Leave a Reply