Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा ठगी गर्ने गिरोह पक्राउ

    नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा ठगी गर्ने गिरोह पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ मंसिर २०८१
  • 351
    SHARES

    काठमाडौं । नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन र बिक्रीवितरण गर्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको छ ।

    प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले भक्तपुर र ललितपुरमा सञ्चालन गरिएका स्टोर तथा फ्याक्ट्रीहरूमा छापा मारेर गिरोहका तीनजना सदस्यहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सुजन गौतम, सुजन खड्का र डिल्ली प्रसाद घिमिरे रहेका छन् । सिआईबीका अनुसार भक्तपुरको गट्ठाघरस्थित सुरेन्द्र श्रेष्ठको घरमा भाडामा लिइएको स्टोर र ललितपुरको लुभुस्थित वायो फुड्स नेपाल प्रा.लि. नामक फ्याक्ट्रीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।



    गिरोहले शिखर यार्शा पावर, हिमाली यार्शा प्लस, यार्शागुम्बा गोल्ड, यार्शा किङ, यार्शागुम्बा किङ प्लस, सुगार कन्ट्रोलर जिमनेमा र पाइल्स निको तेल जस्ता नामहरूमा विभिन्न औषधी उत्पादन गरी बिक्रीवितरण गर्दै आएको थियो ।

    औषधीको नाममा सताबरी, अश्वगन्धा, सिलाजित, र यार्शागुम्बाजस्ता जडिबुटीको मिश्रण प्रयोग गरी “यौन क्षमता र शक्तिवर्धक” भनेर प्रचार गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

    एसपी बोगटीका अनुसार यी सामग्रीहरू फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा आकर्षक र अश्लील विज्ञापनका माध्यमबाट प्रचार गरिन्थ्यो । औषधीका फाइदा र असरहरू अतिरञ्जित रूपमा प्रस्तुत गरी सर्वसाधारणलाई ठगी गरिन्थ्यो । १ बट्टाको मूल्य रु २००० देखि रु २५०० सम्म तोकिएको थियो ।

    घटनास्थलबाट ठूला मात्रामा नक्कली उत्पादनहरू, कच्चा पदार्थ, र बिक्री वितरणमा प्रयोग गरिएका सामाग्री बरामद गरिएको छ । सिआईबीले उनीहरुमाथि अनुसन्धान थालेको छ । । साथै यस्ता उत्पादनहरू खरिद नगर्न र ठगीमा परेका व्यक्तिले नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान ब्युरोमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार