काठमाडौं । प्रहरी देशका विभिन्न विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ९ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-४ खैराना सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन सहित २३ वर्षीय जगत कठायतलाई प्रहरीले पक्राउ गरेको छ ।
कठायतको साथबाट प्रहरीले १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।
त्यस्तै, बाँकेबाट पनि नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको छ । लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेटसहित २२ वर्षीय धिरज पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयजमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको टोलीले मगरलाई भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
१० किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका-९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबोलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको थियो ।
त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-७ नर्कटे चोकबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । करिब १ किलो ७ सय ८० ग्राम गाँजासहित उदयपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले सिराहा भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट लागूऔषध गाँजा ६ किलोग्राम सहित सोही ठाउँका३५ वर्षीय अनोज पासवानलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख१८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका-१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका-११ बस्ने २० वर्षीय विशाल तामाङलाई ट्रमानिल ३ सय ४० ट्याब्लेट तथा ग।१ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका-४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुल सहित पक्राउ गरेको हो ।
Leave a Reply