Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मानव तस्करीमा सेलीब्रेटीदेखि नेताहरुसम्म

    मानव तस्करीमा सेलीब्रेटीदेखि नेताहरुसम्म

    नारायणप्रसाद शर्मा
  • मंगलबार, २७ कार्तिक २०८१
  • 492
    SHARES

    काठमाडौं । वि.स. २०५५ सालमा नेपालका ४० जनाभन्दा बढी सांसद्ले आफ्नो रातो राहदानी मानव तथा लागूऔषध तस्करीमा प्रयोग गरेको भनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाल प्रहरीलाई जानकारी दिएको थियो ।

    इन्टरपोलको जानकारीपछि सरकार आफैं छानबिन गर्न बाध्य भयो । तत्कालीन गृहसचिब श्रीकान्त रेग्मीको अध्यक्षतामा छानबिन समिति पनि बनेको थियो ।



    तर, सत्ताधारी र प्रतिपक्षका सांसदहरु नै मुछिएका कारण उक्त प्रतिवेदन लागू नै भएन ।



    यसरी इन्टरपोलको रिपोर्टअनुसार राहदानी बेच्ने अपराध सूचीमा नेपाली कांग्रेसका डा. रामशरण महत, बलबहादुर केसी, देवेन्द्रराज कँडेल, रामचन्द्र अधिकारी, हस्तबहादुर मल्ल, मीनबहादुर खत्री, बिपिन कोइराला, पाल्टेन गुरुङ, चीनकाजी श्रेष्ठ, अनिस अन्सारी, महेन्द्रध्वज जोशी, राजदेव गोइत, डा. ध्रुव शर्मा, रामजनम चौधरी, दीपकजंग शाह, चक्रबहादुर शाही, मोतिप्रसाद पहाडी, गोपालजीजंग शाह, सुरेन्द्र हमाल, कृष्णप्रसाद गौतम, सुशीलमान शेरचन, दुर्गाकुमारी भट्टराई र सुरेन्द्रप्रसाद चौधरी थिए ।

    त्यसैगरी राप्रपाका रविन्द्रनाथ शर्मा (मरोणोपरान्त भ्रष्टाचार ठहर), डा. प्रकाशचन्द्र लोहनी, खोभारी यादव र राजीव पराजुली र तत्कालीन समयका नेकपा (एमाले)का पार्टीका झलनाथ खनाल, विरोध खतिवडा, जागृतप्रसाद भेटवाल, काशीनाथ अधिकारी, मझिलाल थारु थनेत, हिमाञ्चल भट्टराई, मीठाराम शर्मा बजगाइँ, लीला श्रेष्ठ, निलबहादुर तिलिजा, रामलखन महतो, केशवलाल श्रेष्ठ, हेमराज राई, जगतबहादुर बोगटी, देवबहादुर पौडेल, हिक्मतबहादुर शाही, भानुभक्त जोशी र गोविन्दनाथ उप्रेती संलग्न भएको रिपोर्ट प्राप्त भएको थियो ।

    त्यसो त तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको राहदानी प्रयोग गरी अष्ट्रेलिया पुगेका युवा किसुनध्वज कार्कीसँग लागू औषध बरामद भयो ।

    कार्कीले महतको रातो राहदानी प्रयोग गरेको पाइयो । तथापि बहालवला अर्थमन्त्री महतलाई कुनै कारबाही नै भएन । यो विषय संसदमा पनि उठ्यो तथापि कुनै सुनुवाइ नै भएन । महत शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको क्याबिनेट मन्त्री थिए ।

    १. कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करीको आरोप लागेपछि २०८१ साल कार्तिक २१ गते राजीनामा दिए । अभियोग लागेपछि उनलाई नेकपा (एमाले) ले पार्टी सदस्य देखि सबै पदबाट निलम्बन गरेको छ । साथै उनी २०८१ कार्तिक २५ गते आइतवारै पक्राउ परी प्रहरीको अनुसन्धानको क्रममा छन् ।

    अधिकारी प्रदेश सरकारको भ्रमण निर्देशिका र आचारसंहिता बिपरीत संघीय सरकारको अनुमतिबिनै जापान भ्रमणमा गएका थिए । उनले जापान लैजानका लागि ३ जना सरोकार नभएका व्यक्तिहरुसँग सेटिङ मिलाएका थिए । ती बेरोजगार युवा उनले नै जापानमा लिएर गएको बुझिएको छ । यद्यपि उनले आफूले हङकङ पुगेपछि थाहा पाएर प्रहरीलाई खबर गरी ती युवालाई पक्राउ गराएको भन्दैआएका छन् ।

    मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । अन्य संलग्नहरुमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पनि यो घटनामा जोडिएका पात्र हुन् ।

    उनीहरु ६ जनालाई नै प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरु यही कार्तिक १४ गते मन्त्रीसहित टोकियो पुगेपछि शंका लागि जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । प्रदेश सांसद तथा मन्त्री अधिकारीले विवादास्पद बयान दिएका छन् ।

    २.स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडललाई २०७४ साल असोज १ गते जापानको अध्यागमनले डिपोर्ट ग¥यो । उनले पार्टीको कार्यक्रमका नाममा केही व्यक्तिलाई जापानमै छाड्ने गरी लिएर गएको आशंकामा डिपोर्ट गरिएको समाचारहरु समेत आएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलसँग रातो राहदानी चाहिँ थिएन । उनीसँग गएका अर्का नेता धनराज गुरुङ चाहिँ रातो राहदानी भएकै कारण छिर्न पाएका थिए । पौडेललाई चाहिँ पार्टीका सभापति शेरबहादुर देउवाले फोन गर्दा पनि अध्यागमन कार्यालय जापानले छाडेन ।

    ३. नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले युरोपियन युनियनका लागि नेपाली राजदूतलाई कार्यालय सहयोगी बनाएर आफ्नी भाइ–बुहारीलाई युरोपियन युनियनको एक देश बेल्जियममा लैजानका लागि आग्रह गरे । उनी उतै बस्ने जस्तो लागेर युरोपियन युनियनले पुनकी भाइबुहारी र राजदूतका अर्का घरेलु कामदारलाई भिसा दिएन । त्यसपछि नेकपा माओवादीको कोटामा राजदूत सिफारिस भएका उनलाई वर्षमानका भाइले घरमा नै गएर बेसरी हप्कीदप्की गरे ।

    ४. राप्रपाका नेता गणेश शेरचनले आफ्ना छोरालाई जापानमा लगेर अवैधरुपमा छाडिदिए । शेरचन पूर्वराजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा क्षेत्रीय प्रशासक बनेका थिए । राजनीति गर्ने व्यक्तिहरु धेरैले आफन्तहरु यसरी नै छाडेपछि उनले पनि त्यही गरेका थिए । शेरचनको दुई बर्षअघि निधन भइसकेको छ ।

    ५. नेकपा (एमाले) बाट २०५१ सालमा पर्वत जिल्लाबाट सांसदमा निर्वाचत देवबहादुर पौडेलले आफ्ना छोरालाई जापानमा छाडेर आएका थिए । सांसद भएका समयमा रातो राहदानी प्रयोग गरी उनले छोरालाई पनि जापान लगेका हुन् ।

    ६. दलित जनजाति पार्टीका अध्यक्ष तथा तत्कालीन विज्ञानमन्त्री विश्वेन्द्र पासवानले पेरिस भ्रमणमा जाँदा स्पेन र पोर्चुगलमा १५ जनालाई छाडेको भन्दै संसदमा हंगामा भयो । पासवान विभिन्न काण्डमा मुछिएका नेता हुन् । तथापि पटक पटक संविधानसभामा सभासद र मन्त्री पनि बने ।

    ७. मसालका नेता चित्रबहादुर केसीले पनि एउटा छोराको छोरालाई ढाँटेर अर्को छोराको भनी जापान पठाएको कुरा आइसकेको छ । केसी राजनीतिमा इमान्दार नेताका रुपमा नेपालीको मन र मस्तिष्कमा दर्ज भएका व्यक्ति हुन् । उनी संघीयता विरोधी पार्टीका नेताका रुपमा चिनिन्छन् ।

    ८. नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले लमजुङ जिल्लाबाट कांग्रेसका तत्कालीन सांसद रामचन्द्र अधिकारीको रातो राहदानी लगेर केही रकममा बेचिदिए । उनले कोशी प्रदेशसभाका पूर्व सदस्य तथा शेरधन राई मुख्यमन्त्री हुँदा भौतिक मन्त्रीसमेत भएका अमिर गुरुङलाई बेचिदिएको समाचार माध्यमबाट जानकारी पाइयो ।

    त्यो समयमा फोटो चेन्ज (पिसी) गरी बेलायत, अमेरिका लगायतका देशमा अबैध तरिकाले मान्छे पठाउने काममा कृष्ण सिंखडा, एलिजा थापा र अमिर गुरुङ जस्ता मानव तस्करहरुले विद्याबारिधि नै गरेका थिए ।

    ९. चर्चित अभिनेता भुवन केसीले आफ्नी कान्छी श्रीमती सुस्मिता केसीको दुईवटा राहदानी बनाएर एउटा राहदानी धादिङका मानव तस्कर कृष्ण सिंखडालाई बेचिदिएका थिए । सिंखडाले तत्कालीन जनपथ प्रहरीका एसपीद्वय रामचन्द्र ढकाल, टपेन्द्र हमाल, अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीका भाइ अधिकृत नारायण मैनालीसँग सेटिङ मिलाएर बेलायतमा ‘एसाइलम’ लिने व्यवस्था मिलाई पिसी गरी ५ सय भन्दा बढी नेपाली युवालाई दशौं लाख लिएर बेलायतमा पठाएका थिए ।

    यही धन्दा गरी अरबौंपति बनेका सिंखडा पछिल्लो समयमा वारेन्टेड भएपछि फरार छन् । हाल उनी अमेरिकामा बसेको बताइन्छ । उनले अबौं रुपैयाँ सम्पत्ति मानवतस्करी धन्दाबाटै जोडेका थिए ।

    १०. २०५१ सालमा नेकपा एमालेमा म्याग्दी जिल्लाबाट सांसद बनेका निलबहादुर तिलिजा अमेरिकामा बसेर लेबर काम गरेका छन् । उनीमाथि नेकपा एमालेको लगानी बालुवामा पानी बन्यो । उनी सांसदमा बहाल रहँदा नै राहदानी बेचेको आरोप लागेको थियो ।

    ११. २०४८ सालमा नेपाली कांग्रेसबाट सिन्धुली जिल्लाको सांसदमा निर्वाचित प्रकाश कोइराला अमेरिका भासिए । उनी साहुको पसलमा काम गरिरहेको अवस्थामा लुटेरा आएर बन्दूकले हानेर मारिदिए । नेपालका सांसदहरु अमेरिकामा श्रम गर्न गएपछि देशको इज्जत कहाँ पुग्यो ?

    १२. २०४९ साल चैत २८ मा जापानमा तालिमका लागि मन्त्री बलबहादुर राईको हस्ताक्षर किर्ते गरी पाँच जनासँग प्रति व्यक्ति पाँच लाख लिएर पठाएको अभियोगमा ओखलढुंगाका रामहरि खतिवडा पक्राउ परे । उनलाई जापानी दूतावासकै अनुरोधमा तत्कालीन विशेष प्रहरीका प्रमुख खेमराज रेग्मीले पक्राउ गर्न आदेश गरेका थिए ।

    खतिवडाले ओखलढुंगाका कैलाश बास्कोटा र दाङका कुमुद शर्मासँग मिलेर उक्त मानव तस्करीको काम गरेका थिए । तीन महिना जेल बिताएपछि खतिवडालाई रिहा गरियो । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको अनुरोधमा उनलाई छाडिएको र सातखत माफ गरिएको सञ्चार माध्ययममा जनाइएको थियो ।

    खतिवडाले रकम लिएर जापान पठाउनका लागि किर्ते सिफारिस गरिएकाहरुमा दीपक, इन्जिनियर सुमित्रा श्रेष्ठ, फिल्ड अफिसर आनन्देश्वर खड्का र श्रीमती विष्णु बानियाँ गरी पाँच जना थिए । उनीहरुलाई भूकम्प क्षेत्र पुनःनिर्माण तथा पुनः स्थापना आयोजनाका कर्मचारी बनाएर नक्कली कागजात बनाइएको थियो उनै खतिवडा अहिले संसदको शक्तिशाली राज्यब्यवस्था तथा सुशासन समितिका सभापति छन् ।

    १३. कोशी प्रदेशका कांगे्रस नेता विनोद कार्की पनि मानव तस्करी अभियोगमा पक्राउ परे । उनी प्रदेशसभामा मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट नेपाली कांग्रेस पार्टीबाट हालका मानवतस्करीमा अभियोग लागेका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीसँग प्रतिस्पर्धी थिए । कार्की पनि मानव तस्करीमा २०८० साल पुसमा पक्राउ परेका थिए ।

    उनी काठमाडौंको इमाडोल बसेर सिटी ट्राभल्स एण्ड टुर्स नामक ट्राभल एजेन्सीमार्फत् भिजिट भिसामा अध्यागमनमा सेटिङ मिलाएर युवाहरु पठाउने गर्दथे । उनी १४ हजार ९५२ मत पाएर एमालेका लिलाबल्लभ अधिकारीसँग पराजित भएका हुन् । अधिकारी पनि अहिले मानवतस्करीमै पक्राउ परी अनुसन्धानको क्रममा छन् ।

    १४. उपसभामुख इन्दिरा रानामगरले सरोकारै नभएका व्यक्तिहरुलाई उपसभामुखको हैसियतले ‘अन्तर्वार्ताका लागि छिटो समय मिलाइदिनू’ भन्दै अमेरिकी दूतावासमा पत्रचार गरिन् । उनले मानवतस्करी काम गरेको भन्दै संसदमा हंगामा भयो । भिसासम्बन्धी कुनै समस्याहरु भए परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार हुनुपर्छ ।

    तर, उनले त्यसो नगरी सिधै दूतावासलाई नै पत्रचार गरिन् । यस्तो गम्भीर गल्तीमा पनि उनले राजीनामा दिइनन् । उनी पदीय नैतिकताको ख्याल नै नगरी चट्टान झै अडिइन् । महिला सशक्तीकरण र विकासका लागि भन्दै संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा सञ्चालित कार्यक्रममा जानका लागि उपसभामुख रानाले बेसरोकार ब्यक्तिलाई अन्तर्वार्ताका लागि छिटो समय मिलाइदिन अनुरोध गरेकी थिइन् । यसरी सिफारिस गरेकाहरुमा आफैं इन्दिरा राना मगर, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्तिमगर र धनप्रसाद गुरुङसहित ६ जना थिए ।

    १५.. कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले सिफारिस गरी अमेरिका गएका कानुन मन्त्रालयमा कार्यरत आइटी अधिकृत आकाश बस्नेत अमेरिकामै हराए । तथापि शक्तिशाली कानून मन्त्रालयका सचिवलाई कतैबाट पनि सोधनी भएन । कानून मन्त्रालयमा अधिकृत तहमा करारमा कार्यरत बस्नेतलाई मन्त्रालयको सिफारिसमा भिसा लागेको थियो । सचिव सापकोटाले भिसाका लागि नभएर मन्त्रालयमा काम गरेको भनी भिसाका लागि सिफारिस गरेको जिकिर गर्दथे । तथापि उनको स्वार्थ पूरै बाझिएको थियो ।

    १६. नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले सिफारिस गरी कार्यक्रममा पठाएका सिन्धुपाल्चोकका व्यवसायीहरु दुई जना नै अमेरिकामा हराए । त्यसपछि निर्माण व्यवसायी महासंघलाई अमेरिकी दूतावासले लामो समयसम्म कालोसूचीमा राख्यो । तत्कालीन अध्यक्ष गौचनको ठेक्कापट्टामा कमिसन र लेनदेनका कारण गुण्डाहरुले गोली हानी हत्या गरे ।

    १७. क्यानाडामा स्थायी रुपमा बसोबास गरेका रामेछापका सुदर्शन गौतम मानव तस्करी धन्दामा संलग्न भएका कारण अहिले नेपाल प्रहरीका मष्ट वान्टेड सूचीमा छन् । उनी नेपाली चलचित्र ‘हिम्मतवाली’ का नायक बनेका थिए ।

    उनले अमेरिका पठाउन भनी अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि गौतम मानवतस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

    गौतमका दुबै हात नभएका कारण उनले धेरैको सहानुभूति बटुले पनि । अन्त्यमा आफ्नो कर्तुत देखाइछाडे । गौतमलाई मानव तस्करीमा सघाउनेहरुमा नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्ले थिए । मूख्य नाइके गौतम विरुद्ध नेपाल प्रहरीको रेडकर्नर नोटिस समेत जारी भएको छ । उनी रामेछाप जिल्लाको सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएका हुन् ।

    १८. दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले २०७३ सालमा विज्ञान तथा प्रविधि मन्त्री भएर पेरिस भ्रमणमा जाँदा स्पेन र पोर्चुगलमा १५ जनालाई छाडेका थिए । संविधानको सपथ खाएर यस्तो मानवतस्करी गरेको आरोप संसदमा सांसदहरुले लगाएका थिए । तथापि उनलाई कुनै कारबाही भएन ।

    १९. पूर्व सामान्य प्रशासन राज्यमन्त्री झापाका जितबहादुर दर्जी (जितु गौतम) ले उदयपुर र खोटाङका केही युवाहरुलाई विदेश पठाउनका लागि मोटो रकम लिए । उनले श्रीमती तुलसादेवी गौतमका नाममा विदेश जानका लागि रकम लिएको कागज गराएका कारण श्रीमती थुनामा परिन् । उनले भने उन्मुक्ति नै पाए ।

    २०. नेकपा (माओवादी) को कोटामा अष्ट्रेलियाको राजदूत बनेकी लक्की शेर्पालाई मानव तस्करीको आरोप लाग्यो । विवादित बनेपछि उनलाई २०७५ साल पुस २३ गते नेकपाको सरकारले बर्खास्त गरेको थियो । मन्त्रिपरिषद्बाटै बर्खास्त भएकी राजदूत शेर्पालाई नेपालबाटै अष्ट्रेलिया ल्याइएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

    राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान् न्वाङ सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो आरोपको खण्डन गरेकी थिइन् । पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमान्ले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङ्छुले आरोप लगाएका थिए ।

    २१. अमेरिका लैजानका लागि नेपालीहरुलाई नक्कली भुटानी बनाउने काममा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका तत्कालिन सचिव तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी, नेकपा माओवादी केन्द्रबाट संविधान सभामा सदस्य बनेका डा. इन्द्रजीत राई, गृहसचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ, मोरङका सागर राई, डा. इन्द्रजीत राईका छोरा निरज राई, मानव तस्कर बेचन झा, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी लगायतका झण्डै तीन दर्जन व्यक्तिहरु प्रत्यक्ष संलग्न रहेका थिए । तत्कालीन गृहमन्त्री खाँणले त मन्त्रीस्तरीय निर्णय गरी शरणार्थी पहिचान गर्नका लागि भन्दै समिति नै बनाएका थिए ।

    त्यसैगरी यो काण्डमा हालकी परराष्ट्रमन्त्री डा. आरजु राणा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण पनि संलग्न भएका समाचार आए पनि कारबाहीको दायरामा ल्याइएन । नेतापत्नीहरु दुई जनाले मात्रै ६ करोड लिएको समाचार आए पनि गुपचुपमा राखियो । बेचन झा जस्ता मानव तस्कर दलालहरु उक्त काण्डमा संलग्न नेताहरुकहाँ मानव तस्करीको रकम पु¥याउने भरिया बनेर काम गरिरहेका थिए ।

    २२. संविधानसभामा समानुपातिक र प्रत्यक्षमा निर्वाचित केही सांसद्हरुले पनि रातो राहदानी बिक्री गरेका थिए । यसरी रातो राहदानी बिक्री गर्नेहरुमा जनता दलकी गायत्री साह, मधेसी जनअअधिकार फोरमका बीपी यादवलगायत थिए । नेकपा एमालेका नारदमुनी राना थारु र फोरमकै शिवपूजन यादवको रातो राहदानी बेचिएको जानकारी भयो । उनीहरुको राहदानी सर्लाहीका सन्तोष उप्रेतीले खरिद गरी लगेका थिए ।

    मधेसी जनअधिकार फोरमका सभासद बीपी यादवसँग बाग्लुङका पृथ्वी छन्त्यालले १ रोड ६० लाखमा रातो राहदानी खरिद गरेको बताए । उनी बीपी यादवको नामबाट अष्ट्रेलिया जानका लागि अबुधावीको अध्यागमनमा जाँच गर्दा अध्यागमनले शंका लागि सोधपुछ गरेपछि सारा कर्तुत खुलेको थियो । गायत्री साहले पनि पैसाकै लाभमा रातो राहदानी बेचेकी थिइन् । अहिले रातो राहदानी बेचेर करोडौं रकम जम्मा गरेकाहरु गुमनाम छन् ।

    यी माथिका नेपालका सेलीब्रेटीले गरेका केही दृष्टान्त मात्रै हुन् । अमेरिका लैजानका लागि मानव दलालहरुले बेरोजगार नेपालीलाई कति रकम खर्च गरी अवैध बाटो प्रयोग गर्छन् भन्ने विषयमा रुकुम, जाजरकोटका नेपालीहरुको विषयमा आएका समाचारबाटै प्रमाणित हुन्छ ।

    तथापि पछिल्लो अमेरिकी निर्वाचनले भने केही फरक पार्ला कि ? नयाँ निर्वाचनबाट अमेरिकाको राष्ट्रपतिमा कट्टर राष्ट्रवादी डोनाल्ड ट्रम्पको विजयले केही फरक पार्ला कि ? उनले आप्रबासीहरु फिर्ता हुनुपर्नेमा जोडदिएका थिए । डायरी एक्सप्रेस साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार