काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply