Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बैंकको जागिर छाडेर चौरपाटीमा कालिजपालन गर्दै गौरव !

    बैंकको जागिर छाडेर चौरपाटीमा कालिजपालन गर्दै गौरव !

    गौरव भन्छन् - यस पटक लगानी उठाउँछु, अर्को वर्षबाट प्रोफिट हुन्छ

    पूर्ण बहादुर साउँद
  • शनिबार, १० कार्तिक २०८१
  • 567
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–४ का गौरव जोशी यति बेला व्यवसायिक रुपमा कालिजपालन व्यवसायमा व्यस्त छन् ।

    बैंकको जागिर छोडेर २०७९ सालबाट युवा व्यवसायी जोशीले पालिकाको केन्द्रमै तिर्सना कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर कालिजपालन सुरु गरे ।



    पालिकाको वडा नम्बर ४ मा जन्मिएका जोशीले माध्यमिक तहसम्मको पढाई बैजनाथ मावि पायलबाट पुरा गरेका थिए । त्यसपछि उनी उच्च शिक्षाका लागि धनगढी गए । त्यहाँ उनले ल्याब टेक्नेसियन र ११/१२ कक्षा सँगसँगै पढे ।



    धनगढीको शैलेश्वरीबाट ल्याब टेक्नेसियन अध्ययन गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट ११/१२ कक्षा पढे । त्यसपछि उनले कैलाली बहुमुखी क्याम्पसबाटै व्यवस्थापन संकाय लिएर स्नातक गरे ।

    बाल्यकालदेखि नै मेहनत गर्ने जोशीले पढ्दै कमाउँदै पनि गरे । ल्याब टेक्नेसियन पास गरिसकेपछि अछाममा आएर जागिर पनि गरेको उनी सुनाउँछन् । तर उनी सो जागिरबाट सन्तुष्ट थिएनन् । त्यसपछि उनी काठमाडौं हानिएका थिए । धनगढी र अछाममा उनले काम गरिसकेका थिए ।

    त्यसैले उनले अनुभवका लागि भए पनि काठमाडौं जाने सोच बनाए । त्यहाँ पनि उनले केही समय फार्मेसीमा काम गरे । त्यो कामबाट पनि सन्तुष्टि नभएका गौरव बैंकिङ् क्षेत्रमा प्रवेश गरे । व्यवस्थापन विषय लिएर पढेका उनलाई सो क्षेत्रमा प्रवेश गर्न पनि सहज भयो । उनले काठमाडौंमै कुमारी बैंकमा काम गरे ।

    उनले त्यो बैंकमा लगभग तीन वर्ष काम गरे । तर त्यहाँको तनाव र हैरानीले उनी आफ्नै व्यवसायी गर्ने मनसायमा पुगेँ । सुरुदेखि नै कालिजपालन व्यवसाय गर्ने सोच बनाएका उनी आर्थिक अभावका कारण ‘ब्याक’ थिए । त्यसपछि जागिर गरेर अलि आर्थिक रुपमा बलियो बनेका गौरवले केही रकम ऋण लिएर व्यवसाय गर्न कस्सिए ।

    २०७९ सालको चुनावमा भोट हाल्न गाउँ फर्किएका गौरवले अछामबाटै बैंकको जागिरबाट राजीनामा दिएका थिए । त्यसपछि उनले चौरपाटी गाउँपालिका–१ को चौरपाटी बजारमै करिब साढे ६ रोपनी जमिनमा कालिजपालन व्यवसाय सुरु गरे । जोशीले सुरुमै करिब ३० लाखको लगानीमा व्यवसाय सुरु गरेका थिए ।

    खोर बनाउन मात्रै १७ लाखसम्म खर्च लागेको उनी सुनाउँछन् । सुरुमा उनले काठमाडौंबाट १० लाखमा तीन सय कालिजका चल्ला किनेका थिए । तर चौरपाटीसम्म पु¥याउँदा एक सय भन्दा बढी चल्ला मरे । त्यसपछि पनि विभिन्न कारणले केही कालिजहरू मरेका थिए ।

    त्यसपछि उनले बेचेका कालिज भने उनले अछाम लगायत धनगढीसम्म बिक्री गरेका थिए भने केही कालिज अण्डा उत्पादनका लागि खोरमै राखे । खोरमै राखिएका कालिजहरूले करिब पाँच हजार अण्डा दिएको उनको भनाई छ । ती अण्डाबाट आफूले चल्ला उत्पादन गरेको उनी सुनाउँछन् ।

    उनले भने, “पहिलो पटक कालिजहरूले झण्डै पाँच हजार अण्डा दिएका थिए । ती मध्येबाट करिब दुई हजार चल्ला उत्पादन भयो । तीमध्ये नौँ सय चल्ला दार्चुला र अछामकै जयगढतिर बेचेँ । बाँकी चल्ला आफैले पालेको थिए । त्यसबाट पनि दुई सय चल्लाहरू मरे । अहिले एक हजार भन्दा बढी कालिजहरू खान योग्य भइसके ।”

    उनले ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गरिरहेका छन् । अहिले भने उनले चल्ला किन्नु परेको छैन । उनीसँग अहिले दुई वटा ‘ह्याचिङ मेसिन’ छन् । तर ती पुराना भइसकेका कारण नयाँ ‘ह्याचिङ मेसिन’ किन्ने उनको योजना छ । साथै मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ ।

    करिब ६ महिनामा कालिजको मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइन्छ । यसै गरी उनले अहिले सम्म बजारको समस्या नरहेको बताए ।

    कालिजहरू अर्डर अनुसार आफूले पनि काटेर खुवाउने गरेको उनी सुनाउँछन् । उनले भने, “अहिलेसम्म बजारको समस्या छैन । मेरो लक्ष्य भनेको वार्षिक एक हजार कालिज बेच्ने लक्ष्य छ । त्यसका लागि अछामकै बजार प्रशस्त छ । अगाडी तीन सय कालिज बेच्दा त्यस्तो समस्या भएन । अब के हुन्छ ।”

    उनले गत वर्ष ५०–६० वटा कालिज धनगढी पठाएको बताए । युवा व्यवसायी जोशीले यस पटक आफूले लगानी उठाउने बताए । एक वर्षमा झण्डै १२ लाखसम्म आम्दानी गरेको उनको भनाई छ ।

    उनले भने, “मैले सुरुदेखि अहिलेसम्म ३५ लाख भन्दा बढी रुपैयाँ लगानी गरेको छु । यस पटक म लगानी उठाउँछु । अर्को पटकबाट फाइदामा जान्छु । कामदार पनि राख्ने योजनामा छु ।”

    उनले अहिलेसम्म कतैबाट सहयोग नपाएको बताउँदै पालिकाबाट जेनेरेटर सहयोग पाएको बताए । तर यस पटक प्रदेश सरकारबाट पनि थोरै रकम सहयोग पाएको उनको भनाई छ ।

    “आश्वासन धेरैबाट पाएको छु । तर अहिलेसम्म सहयोग पाएको छैन । पालिकाका अध्यक्ष ज्यूले एउटा जेनेरेटर दिनु भएको थियो । अन्य निकायबाट पनि सहयोग पाएको छैन । तर यस पटक प्रदेश सरकारले केही रकम विनियोजन गरेको छ,” उनले भने ।

    उनी युवाहरूलाई स्वदेशमै रोजगारी गर्न उनी सुझाव दिन्छन् । युवाहरू पछिल्लो समय अल्छी हुँदै गएका कारण पनि व्यवसाय गर्नबाट पछि हट्ने गरेको उनले बताए ।

    उनी भन्छन्, “अवसर नभएको होइन । अवसर जति पनि छ । तर हाम्रा मान्छे अल्छी भए । मेहनत गर्दैनन् । बम्बैका भारु देख्न थाले । नेपाली उनीहरूको आँखामै लाग्दैनन् ।”

    उनले नेपालमा रोजगारीका धेरै अवसर रहेको दाबी गरे । युवाहरूलाई स्वदेशमै रोजगारी गर्न उनको सुझाव छ । उनी चल्लाहरू हुर्काउन चुनौती । उनले अस्ट्रेलियन रिङरेट जातको कालिज पालेका छन् ।

    यस्तै यो पटक जंगली कालिजसँग रिङरेट जातको कालिजलाई क्रस गराएर नयाँ जातको कालिज बनाएको उनको दाबी छ । उनले विश्वमै यो छुट्टै जातिको कालिजको विकास गरिएको बताए ।

    उनले अहिले सो प्रजातिका तीन वटा कालिज रहेको जानकारी दिए । अझै पनि नयाँ प्रजातिको कालिज विकासमा आफू लागिरहेको उनी सुनाउँछन् । साथै उनले चौरपाटी कालिज पालनका लागि नेपालकै उत्तम ठाउँ रहेको दाबी गरे । सात महिनाको उमेरमै बुबा गुमाएका जोशी अहिले चौरपाटीको उत्कृष्ट युवा व्यवसायीका रुपमा चिनिँदै गएका छन् ।

    उनले अब बाख्रा पाल्नेसमेत योजना बनाएका छन् । उनलाई सुरुमा कालिजपालन व्यवसाय गर्दा आफन्तहरूले निराशाजनक कुरा सुनाउँथे । तर पनि उनले हिम्मत हारेनन् । आफ्नो लक्ष्यमा लागिरहे । अहिले उनी लाखौँ रुपैयाँका मालिका भएका छन् । उनले पोथी दुई तथा भाले कालिजलाई तीन हजारमा बेच्ने गरेका छन् ।

    उनको फार्ममा अहिले एक हजार भन्दा बढी कालिज रहेका छन् । उनले अहिलेसम्म कालिज पालनसम्बन्धी तालिम समेत लगेका छैनन् । उनले यूटुव हेरेर नै कालिज पाल्ने योजना बुनेका थिए । उनी कालिज फार्ममा २४ सै घण्टा खटिएका छन् । उनी घर नगएको पनि ७–८ महिना भइसक्यो ।

    अब उनले केही युवाहरूलाई रोजगारी दिने योजनासमेत रहेको सुनाए । यसभन्दा अगाडी पनि उनले कामदार राखेका थिए । तर अहिले जोशी फार्ममा एक्लै काम गरिरहेका छन् । उनले कालिजको खोरभित्र घाँससमेत रोपेका छन् । साथै उनले फार्ममा अझै थप लगानी लगाउने तयारी गरेका छन् ।

    तस्विरहरु :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार