Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडौं प्रहरीको ५० लाख काण्ड : अन्य प्रहरीको पनि भूमिका शंकास्पद

    काठमाडौं प्रहरीको ५० लाख काण्ड : अन्य प्रहरीको पनि भूमिका शंकास्पद

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 459
    SHARES

    काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी मुद्दा नचलाई ५० लाख असुलेर छाडिएको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंका अन्य प्रहरीको पनि भूमिका शंकास्पद देखिएको छ ।

    मुद्दा चलाउने पर्याप्त आधार हुँदाहुँदै छाड्नु र बिचौलियामार्फत ५० लाख रुपैयाँ लेनदेन हुनुले यसमा अन्य प्रहरीको मिलेमतो रहेको देखिन्छ ।



    सो घटनामा संलग्न हवल्दार गणश खड्का र जवान साजन शर्मालाई मात्र पक्राउ गरी मुद्दा चलाइएको छ । जसमा खड्का जेल चलान भएका छन् भने भने शर्मा धरौटीमा छुटेका छन् ।



    बिचौलिया तेज तामाङसँग मिलेर हवल्दार खड्काले क्यानडा बस्ने आशिष आचार्यलाई पक्राउ गरी क्रिप्टो मुद्दामा ५ वर्ष जेल जाने भन्दै धम्काएर पैसा असुलेका हुन् ।

    मुद्दामा परिसरका डीएसपी हरि खतिवडा, इन्सपेक्टरहरु वाङदेल लामा, प्रतिक सिंह तथा सई माधव थापाको समेत कागज गरिएको छ । उनीहरुकै कुरामा विरोधाभाष देखिन्छ ।

    सई थापाले गरेको कागजमा डीएसपी खतिवडाले म्याद थप गर्नुपर्ने बताएको उल्लेख गरेका छन् भने इन्सपेक्टर सिंहले भने डिएसपीकै निर्देशनअनुसार म्याद थप नगरी छाड्ने निर्णय भएको बताएका छन् । जसकारण यो प्रकरण थप रहस्यमय देखिन्छ ।

    थापाले बयान कागजमा भनेका छन्– भदौ १६ गते विहान कार्यालय आइसकेपछि आशिष आचार्यलाई के गर्ने हो रु मुद्दा चलाउने हो वा नचलाउने हो रु भनी मैले प्र.नि वाङगेल लामालाई सोधेको र सरले हरि सरकोमा जाउँ भनी मलाई भनेका हुँदा साइबर शाखामा कार्यरत प्रनि प्रतिक सिंह, प्रनि वाङदेल लामा र म तीनै जना हरि सरको अफिसमा आई म्याद थप गर्ने/नगर्ने विषयमा कुरा गरेकोमा प्रनाउ हरि सरले यसको ट्रान्जेक्सन हिस्ट्री, बाइनान्स अकाउन्ट खोलेको मिति सबै निकालेर ल्याउनु भनी पठाउनु भएको थियो ।

    सम्पूर्ण डाटा केलाई निजको वाइनान्स अकाउन्ट क्यानाडामा खुलेको र निजको अकाउन्टमा डिपोजित भएको क्रिप्टो करेन्सी क्यानाडामा नै भएको देखिएको, निजको बुबा सानै उमेरमा बितेको र निजकी आमा विरामी भएकाले आमालाई भेट्न नेपाल आएको र निज ३ दिन पछाडी पुन: क्यानडा जान नसकेमा निजको भिसा क्यान्सिल हुने र निजको करियर सबै सकिने, मुद्दा चलेपछि म सुसाइड गरे पनि भयो भन्ने कुरा गरेको हुँदा, म, प्रनि प्रतिक सर र प्रनि वाङदेल लामा सर समेतले शाखा प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा सरलाई निज आशिष आचार्यलाई छाड्न सकिन्छ भने छाँडिदिउँ भनी सिफारिस गरेका हौं ।

    अन्दाजी साढे ३ बजे निज आशिष आचार्यको वाइनान्स अकाउन्ट लगायतका सम्पूर्ण विवरणहरु निकाली प्रनाउ हरि सरलाई रिपोर्ट गर्दा प्रनाउ सरले ३ दिन भए पनि म्याद थप गरौं किन हामी टाउको दुखाउनु, अदालतले जे गर्छ गरोस् भनि भन्नु भएको हुँदा निज आशिष आचार्यको सम्पूर्ण डाटा निकाली हरी सरलाई समेत जानकारी गराई सम्पूर्ण डाटाको स्क्रिन सट र मोबाइल समेत साइबर शाखामा लगी म्याद थप गर्नका लागि सबै सबै प्रिन्ट गर्नु भनि साइबर शाखामा कार्यरत प्रहरी जवान साजन शर्माको जिम्मा लगाएको हुँ ।’

    सई थापाले गरेको कागजमा उनको आइतबार म्याद थपको तयारी भएको र एक्कासी पछि म्याद थप नगर्ने निर्णय भएको देखिन्छ । त्यो निर्णय कसरी परिवर्तन भयो र कसले त्यस्तो आदेश दियो भन्नेमा विस्तृत छानविन हुन सकेको छैन ।

    काठमाडौ उपत्यका कार्यालयका एसपी प्रजित केसी नेतृत्वका समितिले यसमा छानविन गरेको थियो । जसमा इन्सपेक्टर प्रतिक सिंहलाई सचेत गराउन र हवल्दार गणेश खड्का तथा जवान शर्मालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    तर, आचार्यको मोबाइलमा प्राप्त क्रिप्टोकारोबारको विवरणमा उनलाई मुद्दा चल्ने प्रशस्त आधार देखिएका छन् । नेपालमा बस्ने उनको दिदीसँग समेत मिलेर कारोबार गरेको पुष्टि भएको थियो । प्रहरीले दिदीको समेत मोबाइल नियन्त्रणमा लिएको थियो ।

    तर, थुनामा परे उनको भिसा रद्द हुने विषय देखाएर मुद्दा नचलाउने निर्णय गर्नु निकै शंकास्पद देखिएको छ । जसमा हवल्दार खड्काको मात्र भूमिका रहेको भनेर दोषी देखाउनु रहस्यमय बनेको छ ।

    उनको मोबाइलमा समेत ८ हजार ३८ यूएसडिटी ब्यालेन्स भेटिएको हवल्दार खड्काकै बयानमा उल्लेख छ । उनको मोबाइलमा ७० हजार ब्यालेन्स रहेको भनेर तर्साइएको थियो । ७० हजार यूएसडिटीको मुल्य करिब ८० लाख नेपाली रुपैयाँ हुन्छ । त्यो जोगाउने र मुद्दाबाट जोगिने हो भने ५० लाख चाहिन्छ भनेर मागिएको थियो ।

    बिचौलिया तामाङले त्रिचन्द्र कलेजको शौचालयमा गएर ५० लाख नगद नै लिएका थिए । त्यही दिन आचार्य छुटे । शुक्रबार पक्राउ गरेर आइतबार साँझ मात्र छाड्नुले पनि यसमा प्रहरीको भूमिका गम्भीर देखिएको हो ।

    तर, विस्तृत छानविन नहुँदा अन्य प्रहरी जोगिएका छन् । विचौलिया तामाङलाई पक्राउ गर्न नसक्नुले पनि प्रहरीमाथि प्रश्न उठेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार