Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • साफ वुमन्स च्याम्पियनसिप : पाकिस्तानलाई ५–२ ले हराउँदै भारत विजयी

    साफ वुमन्स च्याम्पियनसिप : पाकिस्तानलाई ५–२ ले हराउँदै भारत विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 150
    SHARES

    काठमाडौं । नेपालमा आजबाट सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५–२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गर्दै जित निकाले ।



    पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १–१ गोल गरे । यसै खेलबाट भारतकी कप्तान अशलता देवीले एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गरिन् ।



    खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

    ३५ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३–० को अग्रता बनायो । बक्सभित्र प्राप्त फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिइन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

    भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

    पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन् ।

    दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो । ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याइन् ।

    ७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५–२ को अग्रता दिलाइन् । प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार