Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • फरार इन्सपेक्टर शाहीमाथि संगठित अपराध कसुरमा पनि अनुसन्धान हुने

    फरार इन्सपेक्टर शाहीमाथि संगठित अपराध कसुरमा पनि अनुसन्धान हुने

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 639
    SHARES

    काठमाडौं । हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने फरार इन्सपेक्टर बिनुकुमारी शाहीमाथि संगठित अपराधसम्बन्धि कसुर पनि आकर्षित हुने भएको छ ।

    संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउन लागिएको हो ।



    जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।



    इटहरीका ताज इस्लाम नेतृत्वको समुहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो ।

    सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न लागेको हो ।

    संगठित अपराधमा प्रहरीले आरोपीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ ।

    आपराधिक लाभ मात्र मुद्दा दायर भएमा २४ दिनमै मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । संगठित अपराध मुद्दा रोक्न इन्सपेक्टर शाहीले अझै चलखेल गरिरहेको स्रोत बताउँछ ।

    तर, प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा सक्रिय छिन् ।

    स्रोतका अनुसार प्रहरीको माथिल्लो निकायबाटै उनलाई तत्काल पक्राउ नगर्न भनेर दबाब दिइएको छ । फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन् । यसअघि छानविन र निलम्बन रोक्न समेत अनेक प्रयास गरेकी थिइन् ।

    तर, पक्राउ परेका अभियुक्तहरु ताज इस्लाम र सुष्मा विकले नै उनको सबै पोल खोलिदिएका छन् । इन्सपेक्टरसँगको सल्लाहमै त्यसरी झगडाको उजुरी दिन लगाएर थुनामा राखी पैसा असुलिएको उनीहरुको बयान छ । प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा शाहीले यस्तो धन्दा चलाएकी थिइन् ।

    इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन् । सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए ।

    त्यो कुरा लुकाउन उनले मोबाइल गायब बनाइएकी हुन् । छानविनले यो घटनामा इन्सपेक्टरको भूमिका अन्य अभियुक्तको भन्दा धेरै देखिएको छ । उनले छानविन समितिलाई बयान दिन समेत अस्वीकार गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार