Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • चाडबाडको मुखमा वाणिज्यका डीजीदेखि मन्त्रालयको टोली चीन भ्रमणमा, कोटाको चिनीमा ठूलो चलखेल

    चाडबाडको मुखमा वाणिज्यका डीजीदेखि मन्त्रालयको टोली चीन भ्रमणमा, कोटाको चिनीमा ठूलो चलखेल

    प्रधानमन्त्रीको निर्देशन लत्याइयो

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 690
    SHARES

    काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वमा बजार चुस्त बनाउन उद्योग, वाणिज्य मन्त्रीको टीमलाई प्रधानमन्त्रीले निर्देशन दिएको भोलिपल्ट वाणिज्य विभागका महानिर्देशक र मन्त्रालयका सहसचिव १० दिने चीन भ्रमणमा जाँदै छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वाणिज्य सचिव मधुसूदन बुर्लाकोटी, वाणिज्य विभागका महानिर्देशक राजन पौडेल मन्त्रालयको द्विपक्षीय महाशाखाका प्रमुख बाबुराम अधिकारी, आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट लगायतलाई सँगै राखेर आइतबार सिंहदरबारमा बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धिको अनुगमन गर्न सक्रियतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।



    प्रधानमन्त्रीको निर्देशनलाई आफ्नो डायरीमा हुबहु उतारेका वाणिज्य विभागका महानिर्देशक पौडेल र सहसचिव अधिकारी भने सोमबारै चीन जान लागेपछि ओलीको निर्देशन अर्थहीन भएको छ ।



    २–३ दिनका लागि होइन, १० दिने लामो भ्रमणमा मन्त्रालयका सहसचिवसहितको टोलीमा सहभागी हुन महानिर्देशक पौडेल चीन जान लागेका हुन् ।

    चाडबाडको मुखमा कालोबजारी नियन्त्रण र कृत्रिम अभावलाई रोक्ने मुख्य दायित्व बोकेको वाणिज्य विभागको नेतृत्व र विभागलाई दिशानिर्देश गर्ने सहसचिव अधिकारीको चीन भ्रमणको स्वीकृति मन्त्री भण्डारीले केही दिनअघि दिएका थिए ।

    हिन्दुहरूको चाडबाडले छपक्कै छोपेको यस्तो बेलामा वाणिज्य मन्त्रालय र विभागको भूमिका प्रभावकारी हुनुपर्ने हो, गत साता मात्रै विभागले चिनीमा कालोबजारी गर्ने सप्लायर्समाथि कारबाही सुरु गरेपछि बजारमा चिनी अभाव नहुने माहौल बन्दै गएको थियो ।

    तर वाणिज्य मन्त्रालय र विभागको नेतृत्व नै विदेश सयरतिर लागेपछि कालोबजारी गर्नेहरूको मनोबल पक्कै पनि बढ्ने भएको छ । रोचक पक्ष त के छ भने भने चाडबाडमा हुँदै आएको चिनी अभाव रोक्नका लागि भारत सरकारले दिएको १९ हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।

    उद्योगीले ल्याउन नसक्ने भएपछि मन्त्रालयले वाणिज्य विभागमार्फत् ट्रेडिङ कम्पनीहरुलाई चिनी आयातका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

    सोही निर्देशन बमोजिम विभागले ७३ वटा फर्महरूलाई सूचीकृत गरेको र त्यसमध्ये फस्ट कम फष्ट सर्भिस अन्तर्गत सुरु दर्ता भएका ७ वटा कम्पनीलाई एक साताको समय दिएर चिनी आयातको अनुमति दिएको छ ।

    यसरी अनुमति पाउनेहरूमा मयुरी ट्रेडलिंक भक्तपुर, प्रणाम ट्रेडर्स विराटनगर, शिवाय इन्टरनेशनल विराटनगर, विशाल ट्रेडलिंक काठमाडौँ, प्रणाम इन्टरनेशनल विराटनगर, सिजन इन्टनरनेशन बालाजु र शिवशंकर ट्रेड कन्सर्न मित्रपार्क छन् ।

    उनीहरूलाई गएको साउन ३१ गते चिनी आयातका लागि ७ दिनभित्र प्रक्रिया सुरु गर्न विभागले नै सूचना जारी गरेको थियो । तर त्यो म्यादभित्र चिनी आयातको प्रक्रिया थाल्नु त कता हो कता ? विभागलाई डीजी पौडेललाई रिझाएर उनीहरूले गत शनिबारसम्म म्याद थप गर्न सफल भएका छन् ।

    भदौ ७ गतेसम्म आयातको प्रक्रिया नथाल्ने ती ७ वटा फर्ममाथि कारबाही गर्ने सूचना जारी गरेको विभागले उल्टै उनीहरूको म्याद थपेर पुरस्कृत गर्ने काम गरेको छ ।

    ७ वटा फर्मले चिनी नल्याएमा बाँकी ८ देखि ७३ सम्मका इच्छुक फर्महरूलाई चिनी आयातका लागि अनुमति दिने प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले झन्डै १ महिनादेखि चलखेलका आधारमा आयातको प्रक्रिया नै नथाल्ने ७ कम्पनीलाई पुरस्कृत गरी अगाडि बढिरहेको छ ।

    भारतले सेप्टेम्बर ३० सम्म चिनी आयातका लागि नेपाललाई कोटा दिएको हो, तर सेप्टेम्बर पहिलो हप्तासम्म प्रक्रिया नै सुरु हुन सकेको छैन । स्रोतका अनुसार ७ फर्मको नाजायज प्रलोभनमा परेर विभागका महानिर्देशक पौडेल कोटाको चिनी नल्याउने षडयन्त्रमा लागेको आरोप छ ।

    नेपालका चिनी उद्योगीको प्रभावमा तस्करीको चिनी निर्धक्क ल्याएर कालोबजारी हुन दिने र उद्योगीहरूले सिजनमा समेत गोदाममा लुकाउँदै चिनीलाई चाडबाडको मुखमा मूल्यवृद्धि गरी बिक्री गर्न छुट दिने विभागको नेतृत्वको तयारी रहेको बुझिएको छ ।

    प्रधानमन्त्री ओली, मन्त्री दामोदर भण्डारी जसरी भए पनि कोटाको चिनी आयातका लागि विभागका महानिर्देशकलाई पटक पटक निर्देशन र दबाब दिँदै आएका छन् ।

    तर पौडेल भने चिनी तस्कर र सिन्डिकेट गर्ने शशीकान्त अग्रवालहरूको चंगुलमा फस्दै गएका भारतले दिएको कोटाको चिनी नेपाल आउने सम्भावना क्षीण बन्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार