Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्रको खरिदमा पाँच ठेकेदारकै दबदबा, करोडौंको ठेक्कामा सेटिङ

    सशस्त्रको खरिदमा पाँच ठेकेदारकै दबदबा, करोडौंको ठेक्कामा सेटिङ

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्वले ३७ हजार जोर चुस्ता, बुटसहित ११ किसिमका बन्दोबस्तीका सामान खरिदमा नयाँ ठेकेदारहरुलाई प्रतिस्पर्धामै रोक लगाएर केपी शर्मा ओली नेतृत्व सरकारको एक रुपैयाँ भ्रष्टाचार नगर्ने प्रतिबद्धतालाई नै चुनौती दिएको छ ।

    साउन १७ गते सशस्त्र प्रहरी बलले बन्दोबस्तीका सामान खरिदको बोलपत्र सूचना निकालेको थियो । जुन बोलपत्रको प्रिबिड मिटिङ भदौ ५ गते भएको थियो ।



    जसमा बर्षौदेखि सेटिङमा सामान आपूर्तिको ठेक्का पाउँदैआएका ठेकेदारहरु र सशस्त्रको प्रबन्ध निर्देशनालयका एसएसपी दीपेन्द्र कुँवरले नयाँ ठेकेदारलाई बोलपत्र पेश गर्नै नदिने अघोषित सहमति गरेको स्रोतले बताएको छ ।



    विगत ३ बर्षदेखि सशस्त्रको खरिदमा रजगज गर्दैआएका एसएसपी कुँवरले ठूलो बजेटका सामानको नमूना निश्चित ठेकेदारलाई मात्र मिल्नेगरी हाल्न लगाएको आरोप छ ।

    जसका कारण सेटिङमा नमूना हाल्ने ठेकेदारहरुलाई नै टेण्डर पनि पर्ने निश्चित भएको सशस्त्र स्रोत बताउँछ । ५ गतेको प्रिबिडिङ मिटिङमा ५ जनाभन्दा बढी ठेकेदारहरुलाई ठेक्कामा छिर्नै नदिने अनौपचारिक सहमति भइसकेको छ भने भदौ १७ गते टेण्डरको टुंगो लाग्दैछ ।

    जसमा एसएसपी कुँवरसँग सेटिङ भएका कम्पनीले मात्र ठेक्का पाउने निश्चित रहेको बताइन्छ ।

    पाँच जनाको ठेकेदारहरुको सिन्डिकेटमा वीरेन्द्र जोशी, श्रवण अग्रवाल, टोपेन्द्र बीसीको एउटा समूह छ भने ज्ञानेन्द्र बस्नेतको अर्को समूह छ । त्यसपछि राजमान मिश्र र ज्ञानेन्द्र अधिकारीको समूह रहेको छ ।

    मित्र लामा र श्याम राउतको समूहका अतिरिक्त बिष्णुकुमार श्रेष्ठसमेत पछिल्ला २ बर्षदेखि सशस्त्रको ठेक्कामा सक्रिय छन् । श्रेष्ठ रवि लामिछानेको पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।

    सशस्त्रको ठेक्कामा यिनैको हालीमुहाली छ । यिनै ठेकेदार र प्रबन्ध निर्देशनालयका प्रमुख एसएसपी कुँवरको सेटिङमा सशस्त्रमा खरिद हुँदैआएको छ ।

    ठेक्का खुलिसकेपछि नमूना देखाउनु पर्नेमा सेटिङ भएका र निकट ठेकेदारलाई सक्कली नमूना देखाउने नयाँ र सेटिङ नभएका ठेकोदारलाई अर्कै नमूना देखाउने गरेको आरोप कुँवरमाथि लाग्दैआएको छ ।

    जसका कारण सशस्त्रको हरेक बर्षको ठेक्का विवादमा पर्ने गरेको छ । सशस्त्रमा अधिकृतको सरुवा १ बर्षमा हुने गरेको छ । तर कुँवरलाई ३ बर्षसम्म प्रबन्धबाट सरुवा गरिएको छैन ।

    प्रतिस्पर्धा नै हुन नदिई सेटिङका ठेकेदारहरुलाई ठेक्का दिएर शैलेन्द्र खनालका पालादेखि नै सशस्त्रमा अनियमितता हुँदैआएको छ । राजु अर्यालको पालामा पनि खरिदमा सेटिङ गर्ने दीपेन्द्र कुँवर, गणेशबहादुर मल्लहरुको सेट परिवर्तन हुनसकेको छैन ।

    त्यसैले अर्यालसमेत यसमा संलग्न छैनन् भन्ने कुरा विश्वास गर्ने आधार नभएको सशस्त्रकै एक उच्च अधिकारी बताउँछन् । आईजीपी नमिलेसम्म फौजी संगठनमा कसैले पनि दायाँबायाँ गर्ने हिम्मत गर्न नसक्ने ती अधिकारीको तर्क छ ।

    सशस्त्रले चालु आर्थिक बर्षको लागि चुस्ता ३७ हजार सेट, ३७ हजार जोर बुट, ३७ हजार नै स्पोर्टस् सुज, ३७ हजार सेट ट्रयाकसुट, १० हजार ४५० पीस पार्का खरिदका लागि बोलपत्र निकालेको छ ।

    त्यसैगरी, ३७ हजार वटा चुस्ता ज्याकेट, ३७ हजार थान ब्ल्यांकेट, १२ हजार ५०० थान स्लीपीङ ब्याग, ३२ हजार वटा वेभ बेल्ट, जंगल ह्याट १८ सय पिस, ट्याक्टीकल भेष्ट ३ हजार, ३७ हजार पीस Whistle with  Whistle Cord को टेण्डर गरेको छ ।

    जसमा जंगल ह्याट नयाँ आइटम हो । पहिलोचोटी सशस्त्रले जंगल ह्याट खरिद गर्न लागेको छ । नेपाली सेनामा गोर्खा ह्याट भनिन्छ भने सशस्त्रले जंगल ह्याट नाम दिएर खरिद गर्न लागेको छ ।

    प्रबन्धका एसएसपी कुँवरले श्रवण अग्रवालको कम्पनीसँग स्लीपीङ ब्याग खरिद गर्नेगरी सेटिङ गरिसकेको स्रोतको दाबी छ । अग्रवालले आफ्नो कम्पनीबाट टेण्डर बिड नगरी टोपेन्द्र बीसीको तेजसम कम्पनीबाट गर्न लागेका छन् । बीसी टेलिकमका कर्मचारी भए पनि उनले प्रहरी, सेना र सशस्त्रको ठेक्कापट्टा गर्दैआएका छन् ।

    उनी टेलिकममा होइन, प्रायः सधैं तीनवटै सुरक्षाफौजको खरिद हेर्ने प्रबन्धमा भेटिन्छन् । ब्ल्यांकेट राजमान मिश्रले पाउनेगरी सेटिङ भइसकेको छ ।

    राजमानले पछिल्ला दिनमा आफ्नो कम्पनीबाट ठेक्कामा भाग नलिई ज्ञानेन्द्र अधिकारीको हिमालनय अल्पाइन नामक कम्पनीबाट लिने गरेका छन् । सशस्त्रको यो बोलपत्रमा पनि उनले हिमालयन अल्पाइनबाटै नमूना हाल्न लगाएका छन् ।

    यसअघि २०–२२ करोडको स्नो आईटमको ठेक्कामा गुणस्तरहीन सामान बुझाई अनियमितता गरेकाले मिश्रको कम्पनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन भइरहेको छ ।

    कुँवरसहितको सशस्त्रको खरिद समितिका सदस्यहरुको टोली अख्तियारमा बयान दिन धाइरहेको छ । जंगल ह्याट श्याम राउतको कम्पनीलाई दिनेगरी नमूना हाल्न लगाइएको छ । यो भन्दा अगाडि म्याट्रेसको ठेक्का पनि राउतकै कम्पनीले पाएको थियो ।

    सशस्त्रको ठेक्का सेटिङ गर्न र ठेकेदारहरुसँग डिल गर्नका लागि प्रबन्धका एसएसपी कुँवरले सई जीवन अधिकारीलाई प्रयोग गर्दैआएको स्रोत बताउँछ ।

    अधिकारी प्रबन्ध निर्देशनालयमा बसेको १२ बर्ष भइसकेको छ । १२ बर्षमा ६ महिना पोखरा बसेपनि शैलेन्द्र खनाल प्रमुख भएपछि उनलाई पुनः प्रबन्धमै ल्याइएको थियो । अधिकारी ठेकेदारसँग डिल गर्नेदेखि सबै काम गर्न निपूर्ण भएकाले कुँवरले उनीमार्फत् नै लेनदेन गर्दैआएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार