काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा गरेको भाषणले प्रहरीमा तरंग उत्पन्न भएको छ । उनले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक डीआईजी छिट्टै फस्ने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेकाले कुनै गलत काममा नलाग्न आईजीपीले चेतावनी दिएका थिए । भाषणमै डीआईजी फस्न लागेको बताएपछि यो विषय अझ धेरै चर्चामा छ ।
महानिरीक्षकको सचिवालय स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ । उनको खातामा केही अस्वभाविक कारोबार भेटिएको छ । सोही विषयमा विस्तृत छानविन भइरहेको छ ।
उनकै विषयमा आईजीपी कुँवरले एक डीआईजी छिट्टै फस्ने बताएका हुन् । पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ ।
जसक्रममा केही बिचौलियामार्फत लेनदेन भेटिएको छ । जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ ।
डीआईजी पोखरेल नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मधेस प्रदेश गएका थिए । सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप उनीमाथि लाग्दै आएको छ । छानविन गरी उनलाई गृह मन्त्रालयले समेत सरुवा गर्न लागेको छ ।
आईजीपी कमजोर भयो भनेर टिप्पणी भइरहेका बेला आईजीपी कुँवरले सार्वजनिक रुपमै गरेको चर्को भाषणलाई प्रहरीभित्र अर्थपूर्ण रुपमा लिइएको छ । डीआईजीसहित अन्य केही प्रहरी अधिकारीमाथि समेत तिव्रताका साथ उनले छानविन अघि बढाएका छन् ।
यसैबीच मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले आफ्नो विषयमा आएका समाचारप्रति असहमति जनाउँदै खण्डन गरेका छन् । डीआईजी पोखरेलले समाचारमा लेखिएका कुरामा सत्यता नभएको जिकिर गरेका छन् ।
आफ्नो छोरा विदेश जान लागेको हुँदा बैंक स्टेटमेन्टका लागि साथीभाइहरुसँग केही समयका लागि रकम सापट लिएर खाताबाटै फिर्ता गरेको पोखरेलले अनलाइन नेपालसँगको कुराकानीमा बताए ।
उनले भने–‘जागिरे जीवनको अन्तिम चरणमा आउँदा यस्ता समाचारले मान प्रतिष्ठामै असर परेको महसुस गरेको छु । कोहीसँग पनि मैले गैरकानूनी ढंगले आर्थिक कारोबार गरेको छैन । मैले कुनै पनि तस्करसँग पैसा लिएको छैन ।’
Leave a Reply