Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सेञ्चुरी बैंक घोटाला प्रकरण : सञ्चालकलाई जोगाउन सेटिङ !

    सेञ्चुरी बैंक घोटाला प्रकरण : सञ्चालकलाई जोगाउन सेटिङ !

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 801
    SHARES

    काठमाडौं । नयाँ सरकार गठनसँगै प्रहरीमा रहेका हाइप्रोफाइल मुद्दा ‘सेटल’ हुन थालेका छन् । उच्च पदस्थ जोडिएका एकपछि अर्को मुद्दाको रहस्यमय रूपमा अनुसन्धान मोडिन थालेका छन् ।

    तत्कालीन सेञ्चुरी बैंकको करिब दुई अर्ब कर्जा हिनामिना प्रकरणमा पनि गृहमन्त्री रमेश लेखककै सक्रियतामा सेटल हुन लागेको छ । केही कर्मचारीलाई मात्र मुद्दा चलाउने गरी सिआइबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउने तयारी गरेको छ ।



    जबकि विगतमा तत्कालीन सञ्चालकलाई नै पक्राउ गरेर अनुसन्धानमा तानिएको थियो । तारेखमा छुटेका ती सञ्चालकहरूलाई अब सिआइबीले मुद्दा नै नचलाउने भएको छ । यसमा ठुलो डिल भएको सिआइबीका प्रहरी अधिकारीहरूको आशंका छ ।



    गृहमन्त्रीले सिआइबीकै प्रहरीलाई बोलाएर त्यसमा मिलाउन निर्देशन दिएको स्रोत बताउँछ । मिलाउन सहयोग गर्नेलाई राम्रो पोष्टिङ दिने आश्वासन समेत उनले दिएका छन् ।

    गत २७ जेठमा सिआइबीले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र कर्मचारी शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो ।

    तर, पक्राउ परेको एक सातामै तारेखमा छुटेका उनीहरू अहिले प्रहरीबाटै क्लिनचिट लिने तयारीमा छन् । राजेशकुमार कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन् । जसकारण उमेशले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत सो मुद्दा मिलाउन गृहमन्त्री लेखकलाई दबाब दिएका थिए ।

    मुद्दा दायर हुन लागेकाहरूबाट करोडौँ उठाएर प्रहरीदेखि गृह मन्त्रालयमा मिलाएर उन्मुक्ति दिने चलखेल अन्तिम चरणमा पुगेको छ । सो बैंकले कमसल धितोमा कमिसन लिएर देउराली सहकारीका रविन्द्र चौलागाईलाई दुई अर्ब ११ करोड कर्जा प्रवाह गरेको थियो ।

    सहकारी डुबेसँगै बैंकको कर्जा समेत डुबेको छ । हाल सेञ्चुरी प्रभु बैंकमा मर्ज भएको छ । कर्जा लिने चौलागाई जेलमा छन् । एक वर्षअघि नै राष्ट्र बैंकले यसमा सञ्चालक समितिकै बदनियत देखिएको भन्दै कारबाहीका लागि पत्राचार गरेको थियो ।

    तर, फागुनमा मात्र अनुसन्धान सुरु भयो । गत १५ फागुनमा सिआइबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ गरेको थियो ।

    दबाबकै भरमा त्यतीबेला उनीहरू छुटेका थिए । पछि रवि लामिछाने गृहमन्त्री हुँदा सञ्चालक नै पक्राउ परेकोमा अहिले पहुँचवाला सबैलाई जोगाउने खेल अघि बढेको छ । त्यसो भए सिंगो सिआइबीकै बदनाम हुने चिन्ता प्रहरी अधिकारीको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार