काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेताहरूबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ ।
महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरूबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् ।
‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरूले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरूका बारेमा कुनै पनि नकारात्मक कुराहरू नलेख्न, शेयर नगर्न, बरु आफूलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।
दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादा समेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा भनिएको छ ।
Leave a Reply