कैलाली । नेपाल प्रहरीका प्राबिधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) निलम बहादुर भण्डारी अनिवार्य अवकाशमा गएका छन् । उनी ३० बर्षे सेवा अवधि पुरा गरी आइतबारबाट अनिवार्य अवकाशमा गएका हुन् ।
उनी २०५१ साल भदौ १ गते प्रहरीमा भर्ना भएका थिए । आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले मायाको चिनोसहित इन्स्पेक्टर भण्डारीलाई बिदाइ गरेका छन् ।
सो अवसरमा सम्बोधन गर्दै डीआईजी केसीले निरन्तर रूपमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै ३० वर्ष लामो अवधिमा संगठनमा पुर्याएको योगदानको प्रशंसा गरे ।
साथै नागरिक जीवनमा पनि वर्दी विनाको प्रहरीको रूपमा समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्न प्रहरीसँग नजिक रहन आग्रह गर्दै उनले व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सुख र समृद्धिको लागि संगठनको तर्फबाट शुभकामना व्यक्त गरे ।
कार्यक्रममा अवकाश गएका प्रहरी निरीक्षक भण्डारीले सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक परिवर्तनहरूमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापूर्वक सम्पन्न गरेको बताए ।
साथै प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरू तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको उनको भनाई छ ।
प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने तयारी रहेकै बेला उनी अनिवार्य अवकाशमा गएका हुन् । गृह मन्त्रालयले प्रहरी ऐनको मस्यौदा तयार पारिरहँदा करिब सय जना उच्च प्रहरी अधिकृतहरु अवकाशमा जाँदै छन् ।
Leave a Reply