Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • सुदूरपश्चिममा कांग्रेसबाट मन्त्री बन्लान् मेघराज खड्का ?

    सुदूरपश्चिममा कांग्रेसबाट मन्त्री बन्लान् मेघराज खड्का ?

    यस्तो छ खड्काको राजनीतिक यात्रा

    पूर्ण बहादुर साउँद
  • शनिबार, १९ साउन २०८१
  • 6.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशले आइतबार साँझ ५ बजेपछि नयाँ मुख्यमन्त्री पाउँदै छ ।

    शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतबार साँझ ५ बजेसम्ममा नयाँ सरकार गठन गर्न शुक्रवार आह्वान गरेका थिए ।



    सोही अनुरूप आइतबार साँझ ५ बजे कांग्रेस र एमालेले संयुक्त रूपमा मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । एमालेको समर्थनमा कांग्रेसबाट एकजना मुख्यमन्त्री बन्ने छन् । तर कांग्रेसले कसलाई मुख्यमन्त्रीमा पठाउने भन्नेबारे निर्णय गर्न सकेको छैन ।



    पूर्व मुख्यमन्त्रीसमेत रहेका कमलबहादुर शाह अहिले पनि कांग्रेसको संसदीय दलका नेता छन् । उनी नै मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । तर कांग्रेसमा यसअघि शाहको नेतृत्वमा सरकारले राम्रो काम गर्न नसकेको भन्दै नयाँलाई मुख्यमन्त्री बनाउनु पर्नेमा अधिकांश सांसदको माग छ ।

    सोही अनुसार उनीबाहेक कांग्रेसकै बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा पनि मुख्यमन्त्रीका आकांक्षी रहेका छन् । प्रकाश पार्टी सभापति शेरबहादुर देउवाका भतिज हुन् । कांग्रेसको विधानमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने व्यवस्था रहेकाले शाह नै मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ ।

    तर प्रकाशलाई मुख्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति देउवा कहाँ ठुलो दबाब छ । तर सभापति देउवाले कसलाई मुख्यमन्त्रीमा पठाउँछन् त्यो भने हेर्न आइतबार नै कुर्नुपर्ने कांग्रेस निकट स्रोत बताउँछ । तर यता कांग्रेसबाट मुख्यमन्त्री टुंग्याउन समस्या भइरहेका बेला मन्त्रीको लागि पनि दौडधुप सुरु भइसकेको छ । यस पटक कांग्रेसले थोरै मन्त्रालय पाउने छ । जस कारण मन्त्री छान्न पनि धौँधौँ पर्ने देखिएको छ ।

    तर यता नेपाली कांग्रेसबाट अछामको क्षेत्र नम्बर १ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का यस पटक मन्त्री बन्ने सम्भावना छ । उनको लामो राजनीतिक अनुभव, नेतृत्व क्षमता र संघर्षशील व्यक्तित्वका कारण पार्टीले उनलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने सम्भावना छ।

    लामो समयदेखि राजनीतिमा सक्रिय उनी २०७९ साल मंसिर ४ गतेको चुनावबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेका थिए ।वि.सं. २०७० सालको संविधान सभाको चुनावमा पराजित खड्का २०७४ मा प्रदेश सभाको निर्वाचनमा पराजित हुन पुगे । उनी फेरि उनी २०७९ सालमा प्रदेशसभामा उम्मेदवार बने । उनले सो चुनावमा १२ हजार ३३७ ल्याएर विजयी हासिल गरे ।

    उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर कुँवरले ६ हजार ४९७ मत मात्रै प्राप्त गरेका थिए । खड्का ५ हजार २६० मतान्तरले विजयी भए । त्यसपछि उनलाई अछामी जनताले प्रदेशको मुख्यमन्त्रीको रुपमा हरेका थिए । तर उनले मुख्यमन्त्रीमा कुनै चासो राखेनन् ।

    साथै मन्त्री बन्न समेत उनले कुनै लबिङ नगरेको बताइएको थियो । उनको कार्यकालमा दुई पटक कांग्रेस सरकारमा गइसकेको छ । तर पनि उनले मन्त्रीका लागि मरिहत्ते गरेनन् । तर अहिले सुदूरपश्चिममा केन्द्रको समीकरण फेरिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने क्रममा छ । यद्यपि कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्नेबारे निर्णय गर्न सकेको छैन ।

    मुख्यमन्त्रीको टुंगो नलागिसके पनि कांग्रेसबाट बन्ने मन्त्रीहरूको पनि चर्चा भइरहेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउन सक्ने स्रोतले बतायो । त्यस कारण कांग्रेसलाई मन्त्री छान्न भने हम्मे हम्मे हुनेछ ।

    तर सांसद तथा कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्रीसमेत रहेका खड्का मन्त्री बन्नेमा अग्रस्थानमा छन् । यसअघि कांग्रेसका धेरै सांसद पटक पटक मन्त्री बनिसकेका छन् ।

    तर खड्का भने अहिलेसम्म मन्त्री बनेका छैनन् । त्यसैले उनलाई अब पार्टीले मन्त्री बनाउने स्थानीय नेतादेखि कार्यकर्तामा विश्वास छ ।

    कांग्रेसका केन्द्रीय नेताले पनि खड्कालाई मन्त्री बनाउने आश्वासन दिइसकेको स्रोतले बतायो । सांसद खड्का निकट स्रोतका अनुसार उनलाई मन्त्री बनाउनेबारे सभापति देउवाले पनि वचन दिइसकेका छन् ।

    यसअघि मन्त्री नबनेका खड्का पनि यस पटक पार्टी र सभापति देउवाले आफूलाई मन्त्री बनाउनेमा ढुक्क छन् । साथै यस पटक खड्का मन्त्री बन्ने सम्भावना बढेपछि अछाम क्षेत्र नम्बर १ (१) का जनतामा खुशीयाली छाएको छ । उनले कांग्रेसलाई सुदृढ बनाउन र लोकतन्त्रको पक्षमा संघर्ष गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    यस्तो छ खड्काको राजनीतिक यात्रा :

    उनी विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका थिए । वि.स. २०३६ सालको जनमत संग्रहपछि माध्यमिक तहमा पढ्दा बहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा उनको संलग्नता थियो । उनी २०३७ सालमा नेविसंघको सदस्य बने ।

    यस्तै २०४१ सालमा सांसद खड्का कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०४२ फागुनपछि स्ववियु सभापति र निर्दलीय पञ्चायतका विरुद्ध नेपाली कांग्रेसद्वारा सञ्चालित २०४२ सालको सत्याग्रहमा ४ महिना भन्दा बढी कारागारमा नजरबन्दमा उनी रहे ।

    साथै उनले २०४६ सालको जनआन्दोलनमा कठोर यातनासहित अछामको हिरासतमा १६ दिन जेल बसे । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक उनी हिरासतमा पुगेका थिए । २०६२/६३ को जनआन्दोलनमा सक्रिय उनको सहभागिता रहेको थियो ।

    २०४८ सालमा उनी कांग्रेस जिल्ला सदस्य बने । पार्टीको ९औँ महाधिवेशनदेखि १४औँ वर्षसम्म उनले जिल्ला सदस्यमै बसेर काम गरे । यस्तै उनी पार्टीको ९औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य बनेका थिए । यस्तै सांसद खड्का २०५४ सालमा जिल्ला विकास समिति सदस्य बनेका थिए ।

    २०६३ देखि २०६७ सम्म उनी कांग्रेस अछामको सभापति बनेर राम्रो काम गरेका थिए । यस्तै उनी १४औँ महाधिवेशनमा कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्रीमा निर्वाचित भएका थिए । त्यसपछि उनी २०७९ मंसिर ४ गतेको चुनावमा अछाम क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

    अछामको विकासदेखि लिएर नीति निमार्णमा समेत उनको सम्झन लायक भूमिका रहेको छ । साथै उनले राजनितिशास्त्रबाट एम.ए सम्मको अध्ययन गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार