राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९ मा सार्वजनिक पोखरी ठेक्कामा लगाए बापतको रकम हिनामिना भएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९का वडा अध्यक्ष कर्ण देब चौधरीले सार्वजनिक पोखरी ठेक्कामा लगाए बापत उठाएको राजस्व हिनामिना गरेका हुन् ।
अध्यक्ष चौधरीले २०७५ /०७६ मा ऐन विपरीत वडाको १८ वटा सार्वजनिक पोखरी ठेक्कामा लगाएर करिब १४ लाख ५० हजार राजस्व उठाएर नगरपालिकाको खातामा ४ लाख ५० हजार बुझाएर बाँकी रकम हिनामिना गरेको स्रोतको दाबी छ ।
रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजनिक पोखरी ठेक्कामा संलग्न व्यक्तिहरूलाई बयानका लागि बोलाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकालाई श्रावण ३ गते पत्राचार गर्दै ठेक्कामा संलग्न व्यक्तिहरूलाई श्रवण ९ गते बयानका लागि उपस्थित गराउन भनेको थियो ।
आयोगले डाक्नेश्वरी –९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नारायण मेहता, रामदेब साह , हरेराम साह , राम नारायण साह , रामसुन्दर यादव र नेपाली यादवलाई बयानका लागि बोलाएको थियो ।
सार्वजनिक पोखरी ठेक्कामा लगाएबापत पहिलो वर्षको रकम १४ लाख ५० हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष चौधरीले आफैँसँग राखेको पोखरी ठेक्का बोलकबोल गर्ने व्यक्तिहरूको प्रतिक्रियाबाट बुझिएको छ ।
अख्तियारमा उजुरी परेपछि ठेकेदारलाई राजस्व फिर्ता
सार्वजनिक पोखरी ठेक्काको राजस्व रकम हिनामिना सम्बन्धी अख्तियारमा उजुरी परेपछि नियम विपरीत पोखरी ठेक्का लिने व्यक्तिहरूलाई राजस्व रकम फिर्ता गरिएको छ ।
ठेक्का बोलकबोल गरी राजस्वका लागि अध्यक्ष चौधरीलाई बुझाएको पैसा पुनः ठेकेदारलाईनै फिर्ता दिएको छ । पोखरीका ठेकेदार सामदेब साहले अध्यक्षलाई बुझाएको राजस्व बापतको पैसा फिर्ता लिएर वडा कार्यालयमा भरपाई गरिदिएको बताए ।
बयानका लागि बोलाएका ६ जना मध्ये ५ जनाले कानुन विपरीत राजस्वका लागि जम्मा गर्न दिएको पैसा फिर्ता लिएको वडाका एक कर्मचारीले बताए । एक जना ठेकेदारको मृत्यु भएका कारण उनको पैसा वडा अध्यक्षसँगै रहेको समेत उनले प्रतिक्रिया दिए ।
उजुरी परेको ५ वर्ष पछि अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पोखरी ठेक्काको राजस्व रकम हिनामिना भएको उजुरी २०७६ साल भदौं ५ गते भए पनि ५ वर्षपछि अख्तियारले अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका लागि डाक्नेश्वरी नगपालिका सँग २०७६ सालमा पोखरी ठेक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाको सम्पूर्ण कागजातहरू माग गरेको प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले बताए ।
अध्यक्ष चौधरीविरुद्ध रकम हिनामिना गरेको करिब एक दर्जन उजुरी अख्तियारमा परेको छ । जसको अनुसन्धान भइरहेको छ । अध्यक्ष चौधरीले डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९ मा नेकपा एमालेबाट दोस्रो पटक जितेका थिए ।
उनको विरुद्धमा वडा कार्यालयबाट विभिन्न शीर्षकमा करिब ६० लाख रुपैयाँको दुरुपयोग गरेको अख्तियारमा उजुरी परेको स्रोतले बतायो ।
Leave a Reply