काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको सुझाव लिएर र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्रको जवाफमा ओलीले देशमा नै रोजगारी सिर्जना र उद्यमशीलता बढाउने काममा आफूहरू लागिरहेको दाबी गरेका हुन् ।
‘तपाईँजस्तै युवासँग सुझाव लिएर, उहाँहरूको भावना बुझेर काम गर्न चाहन्छु’, ओलीले लेखेका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले उद्यमशीलताको आधार तयार गर्न आफूहरू लागिरहेको भए पनि एकै पटक सोचे जस्तो काम गर्न नसकिएको उल्लेख गरेका छन् । यसमा आफूले कसैलाई पनि दोष नदिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।
‘सबैका समस्या सुन्छु, एकै पटक गर्न नसकिएला, तर हामी आफ्ना पाइलालाई त्यसतर्फ नै चालिरहेका छौँ’, प्रधानमन्त्रीले उल्लेख गरेका छन्।