Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • न्यूरोडको फुटपाथ विस्तार स्थिगित, जनताको जित कि बालेनको हार ?

    न्यूरोडको फुटपाथ विस्तार स्थिगित, जनताको जित कि बालेनको हार ?

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 549
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।

    सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।



    काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबिच छलफल भएको थियो ।



    इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए ।

    न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए । उनले हिजोबाट सडकमै टेबलकुर्सी राखेर वडाको काम थालेका थिए ।

    महानगरपालिकासँग सहमति भएपछि न्यूरोड पुगेका वडाध्यक्ष महर्जनले जनताको जीत भएको दावी गरे ।

    फुटपाथ विस्तारको काम स्थगित भएसँगै गौरव व्यक्त गरेका उनले सहमतिपछि न्यूरोडमै आएर उनले कोणसभालाई सम्बोधन गरेका थिए ।

    छोटो सम्बोधन गर्दै उनले प्रजातन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भएको पनि दावी गरे ।

    अन्तर्राष्ट्रि मापदण्ड हेर्ने हो भने चाहिं घना बस्ती र ठूला शहरभित्र फुटपाथ ठूलो र सडक दुई लेनको मात्रै हुन्छ । सवारी आवागमनमा अप्ठेरो नपर्ने गरी दोहोरो सवारी सहजै ओहोर दोहोर गर्द असहज नहुने गरी सडक निर्माण गर्ने र फुटपाथ पनि ठूलो बनाउने प्रचलन छ ।

    महानगरपालिकाका मेयर बालेन साहले पनि फुटपाथ सानो भएको भन्दै त्यसलाई बढाउन खोजेका थिए । जनताको अन्दोलन हुँदै उच्च अदालतसम्म पुगेको उक्त मुद्दा बालेनको पक्षमा फैसला भएपनि अन्ततः उनले काम गर्न भने पाएनन् । उच्च अदालत पाटनले असार ३० गते न्युरोडको फुटपाथ विस्तार गर्न आदेश दिएको थियो ।

    न्यायाधीद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाको मागबमोजिम फुटपाथ विस्तारका पक्षमा आदेश दिएको हो ।

    महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेपछि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र भन्दै अवरोध गरेको थियो ।

    महानगरले न्युरोडको सडक पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते सडक डिभिजन काठमाडौंले खनिएको सडकमाथि कालोपत्र गरेको थियो । त्यसपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा फुटपाथ विस्तार गर्न पाउँभन्दै रिट दायर गरेको थियो ।

    उच्चको आदेशसँगै काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिएको थियो । तर, न्यूरोडका केही जनता विरोधमा उत्रिएपछि महानगर पछि हटेको हो ।

    यस्तो छ चिनीकाजीको भनाइ

    आज साँच्चै जनताको जीत भएको छ । जनता हार्दैन भन्ने स्थापित भएको छ । डेमोक्रेसीमा जनताले चाहेको र खोजेकोमात्रै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ ।

    सडकपेटीको सुधारका नाममा हाम्रो व्यापारिक केन्द्र न्यूरोडलाई नाकाबन्दी गर्ने उद्देश्यले सडकपेटी विस्तारको नाममा सडक खुम्च्याउने योजना ल्याइएको हो ।

    अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ । कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्ने हामीले भन्दै आएका थियौं । जनताको माग र आवश्यकतालाई मध्यनजर गरेरमात्र विकासको कार्य थालनी गर्नुपर्छ ।

    न्यूरोडको जनतालाई घाउ हुँदाखेरि अहोरात्र खटिनुभएको अन्य वडाका साथीहरुलाई सम्पूर्ण न्यूरोडवासीका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यो गुन सधैं सम्झिनेछौं । भोलिका दिनमा सम्झौता तोडमोड भयो या पालना भएन भने यहाँहरुलाई सम्झिनेछु । आन्दोलनमा सहभागी हुनुभएको सम्पूर्ण जनतामा पुनः एकपल्ट धन्यवाद ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार