Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौँको ढलमा देखियो पोलियो जीवाणु, खोप अभियान चलाइँदै

    काठमाडौँको ढलमा देखियो पोलियो जीवाणु, खोप अभियान चलाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 345
    SHARES

    काठमाडौँ । काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ ।

    स्वास्थ्य सेवा विभागले आज काठमाडौँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए ।



    दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो ।



    नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

    “अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,” उनले भने, “ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।”

    खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्यान्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको हो ।

    नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रुपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । “टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,” उनले भने ।

    उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए ।

    उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ । अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे ।

    कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहुन भनेर खोप अभियान सञ्चालन गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार