काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ ।
शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार हुने भएको हो ।
ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएसँगै राष्ट्रपतिले साँझ बहुमतको सरकार गठनका लागि आइतबारको समयसीमा दिएर आह्वान गरेका थिए ।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका हुन् ।