काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आजै संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
अब आवश्यक निर्णय गरेर आजै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए ।
लगत्तै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।