काठमाडौं । सत्ता समीकरणको फेरिने चर्चाका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन्।
बालकोट स्रोतकाअनुसार एमाले अध्यक्ष ओलीले आज साँझ आफ्नै निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला अध्यक्ष ओलीले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाएका छन् ।
कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बन्ने भएपछि त्यसको तयारी गर्न अध्यक्ष ओलीले मन्त्रीहरूलाई भेटका लागि बोलाएको हुनसक्ने बताईएको छ ।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ३ घण्टा लामो छलफल भएको थियो ।
सोही छलफलमा २ दल मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको विषय बाहिर आएको छ ।
स्रोतका अनुसार यसपटकको नयाँ समीकरण सत्ताभन्दा निश्चित राजनीतिक उद्देश्यका लागि हुनेछ ।
देउवाले ओलीलाई बालकोटस्थित निवासमै गएर छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आइतबार र सोमबार घण्टौंसम्म छलफल गरेका थिए।