भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गरेका छन्।
आज बिहीबार आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पारे।
एमालेसँग वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै ओलीले चुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाए।
एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गरे।
अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डोर्याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताए। रासस