काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमालेसँग वैचारिक बहसमा डराएको दाबी गरेका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले गिरिबन्धु टि-स्टेटका बारेमा गलत प्रचार गरेर कांग्रेसले स्यालहुइँया मच्चाइरहेको आरोप लगाए।
कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि-स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको अध्यक्ष ओलीको आरोप छ ।
अध्यक्ष ओलीले भने, ‘एउटा स्याल करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर केपी ओलीले पित्तल चढायो रे ! , छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? अहिले गिरिबन्धु टि-स्टेट भनेर कराएका छन् । गिरीबन्धु टि-स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर तिनै तत्वहरुले खाएका थिए । कानुन बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुइँया मच्चाएका छन् ।’
उनले एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए ।
अध्यक्ष ओलीले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्नसमेत गरे ।
उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको समेत बताए ।