Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बुद्धि सुवेदीको टाइगर प्यालेसमा दुईवटा क्यासिनो, विभागदेखि बालुवाटारसम्म चलखेल

    बुद्धि सुवेदीको टाइगर प्यालेसमा दुईवटा क्यासिनो, विभागदेखि बालुवाटारसम्म चलखेल

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 4K
    SHARES

    काठमाडौं । पर्यटन विभागले एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालन गर्न अनुमति दिएर तमासा देखाएको छ । रुपन्देहीमा टाइगर वान प्रालिद्वारा सञ्चालित टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

    एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भल हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको छ ।





    टाइगर प्यालेस रिसोर्ट विवादास्पद गैरआवासीय नेपाली वुद्धिसागर सुवेदीको समूहले केही समयअघि सञ्चालनमा ल्याएको हो ।

    सुवेदीकै कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिले क्यासिनो सञ्चालन गर्दै आइरहेकोमा सुवेदीले रवि शर्मा धिताललाई नयाँ सम्झौता गराएर एकाएक क्यासिनो सञ्चालन गर्न दिएका छन् ।

    सुवेदीले रवि शर्मा धितालको रोयल टाइगर रिक्रियसन प्रालिसँग नयाँ सम्झौता गरी क्यासिनो सञ्चालन गर्न दिएपछि १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालि अन्यायमा परेको छ । सुवेदीले धितालसँग साँठगाँठ गरी टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन पर्यटन विभागमा समेत सेटिङ मिलाएको स्रोत बताउँछ ।

    पछिल्लो समय धिताल क्यासिनो डनका रुपमा चिनिन्छन् । सुवेदीमाथि सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ । गैरकानूनी रुपमा टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको भन्दै सुवेदीमाथि विभागको अनुसन्धान जारी छ ।

    यता, पर्यटन विभागले पनि रोयल टाइगर रिक्रियसन प्रालिलाई सोही होटलमा क्यासिनो सञ्चालन गर्ने अनुमति दिएपछि विवाद अदालतसम्म पुगेको छ ।

    पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले रवि शर्मा धितालको कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमतिका लागि प्रकृया अगाडि बढाएपछि टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालि उच्च अदालत पाटनमा न्याय माग्न पुगेको छ ।

    विभागका महानिर्देशक पण्डितमाथि धिताल र सुवेदीबाट ठूलो रकम घुस लिएर रोयल टाइगर रिक्रियसन प्रालिलाई अनुमति दिएको आरोप छ ।

    क्यासिनोको लाइसेन्स दिंदा ठूलो आर्थिक चलखेल हुँदै आएको छ । प्रेम आले पर्यटन मन्त्री हुँदा उनले प्रति क्यासिनो २ करोड घुस लिएर अनुमति दिएको आरोप लागेको थियो ।

    धिताल र सुवेदीले रोयल टाइगर रिक्रियसन प्रालिको नाममा क्यासिनोको अनुमति लिनका लागि महानिर्देशक पण्डिलाई दररेट अनुसार कबुल गरेपछि शेयरधनीबीच विवाद हुँदाहुँदै पनि अर्को कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमति दिएको आरोप छ ।

    टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालि शेयरधनी रहेकोमा धितालले एकलौटी कम्पनी जस्तो गरी क्यासिनो बन्द गरेको निवेदन दिएर नयाँ अनुमति लिन लागेका हुन् ।

    टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको शेयर हडप्ने उद्देश्यले धितालले अर्को क्यासिनो दर्ता गरेपछि विवाद अदालतसम्म पुगेको हो ।

    एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले सञ्चालन गरेको क्यासिनो बन्द गरी रोयल टाइगर रिक्रियसन प्रालिले नयाँ क्यासिनो सञ्चालन अनुमति मागेकाले प्रकृया अगाडि बढाइएको महानिर्देशक पण्डितले दावी गरे ।

    पण्डितले अनलाइन नेपालसँग भने–‘पुरानो क्यासिनो बन्द गरेर नयाँ क्यासिनो सञ्चालन गर्ने भन्ने निवेदन आएपछि प्रकृया अगाडि बढाएका थियौं । तर, केही सञ्चालकले आफूहरुलाई थाहै नदिई कम्पनी बन्द गरेर अर्को क्यासिनो सञ्चालनको अनुमति मागेको भन्दै त्यसविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले अन्तरिम आदेश दिएको छ । आदेशपछि सबै प्रकृया अहिलेलाई रोकिएको छ ।’

    उच्च अदालत पाटनले दुबै पक्षलाई असार ४ गते बोलाएको छ । सो अवधिसम्म कुनै पनि नयाँ कम्पनीलाई क्यासिनो सञ्चालन गर्न नदिन आदेश दिएको छ ।

    तर, रोयल टाइगर रिक्रियसन प्रालिका सञ्चालक धितालले तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड, प्रधानमन्त्री पुत्री गंगा दाहालका श्रीमान जीवन आचार्य र पर्यटन विभागका महानिर्देशक पण्डितलाई मिलाइसकेको भन्दै जबरजस्ती क्यासिनो सञ्चालन गर्न खोजेको होटलका एक कर्मचारीले बताए ।

    होटल स्रोत भन्छ–‘धितालले नयाँ क्यासिनोमा जीवन आचार्यको पनि लगानी रहेको हुँदा कसैले केही गर्न नसक्ने भ्रम फैलाएर पर्यटन विभागमा चलखेल गरिरहेका छन् । विभागका डिजी पण्डित समेत धितालको प्रभावमा परेका छन् ।’

    टाइगर प्यालेसमा क्यासिनोका लागि नयाँ कम्पनीलाई प्रवेश गराउन विभागदेखि बाललुवाटरसम्म करोडौ चलखेल भएको स्रोत बताउँछ ।

    अर्कोतिर आफूलाई सफल गैरआवासीय नेपाली ठान्ने बुद्धिसागर सुवेदीले क्यासिनोमा १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन गैर कानूनी रुपमा धितालसँग सम्झौता गरेका छन् । यो सम्झौताले सुवेदी र धितालको ठग्ने नियत प्रष्ट देखाउने होटल स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार