चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयत्न कसैले पनि नगरे हुने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्किए अस्थिरता हुने बताउँदै यसमा कोही कसैले पनि खेल्नु राम्रो नहुने बताए ।
अध्यक्ष ओलीले भने,‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन । अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’
वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको अध्यक्ष ओलीले दाबी गरे । अध्यक्ष ओलीले सत्ता समीकरण दिगो हुने दावी गरे।
अध्यक्ष ओलीले त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष भएको जिकिर गरे। दलहरूको अपरिपक्वताले अस्थिरता उत्पन्न भएको उनको भनाइ छ।