Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाली सेनाका ‘विवादित रथी’सँग दुईवटा नागरिकता, चारथरी जन्ममिति (हेर्नुहोस् तथ्यहरु)

    नेपाली सेनाका ‘विवादित रथी’सँग दुईवटा नागरिकता, चारथरी जन्ममिति (हेर्नुहोस् तथ्यहरु)

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 7.7K
    SHARES

    काठमाडौं । नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा जन्ममिति कीर्ते गरेको गम्भीर आरोप झेलिरहेका नेपाली सेनाका विवादास्पद रथी अशोकराज सिग्देलले दुई वटा नागरिकता प्रयोग गरिरहेको पुष्टि भएको छ ।

    आफ्नो नागरिकता हराएको भनेर प्रतिलिपि निकालेका उनले पुरानो नागरिकता समेत प्रयोग गरिरहेका छन् । जुन नागरिकतासम्बन्धि कानूनअनुसार अपराध हो ।





    सिग्देलले २०४० साल असोज ९ गते रुपन्देहीबाट पहिलो पटक नागरिकता लिएका थिए भने २०५८ साल ८ जेठमा जाजरकोबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । तर, हाल उनले २०४० सालमा लिएको नागरिकता नै राष्ट्रिय परिचयपत्र बनाउने क्रममा प्रयोग गरेको पुष्टि भएपछि सिग्देल समस्यामा परेका हुन् ।

    उनले २०७८ सालमा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेशन गर्दा पुरानै नागरिकता प्रयोग गरेको भेटिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    यसमा नेपाल नागरिकता ऐन २०६३ को दफा १२ र १३ अनुसार कारबाहीको माग गर्दै गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको छ । प्रतिलिपि लिएपछि पुरानो नागरिकता प्रयोग गर्न पाइदैन ।

    उनको नागरिकताको प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ । जुन नागरिकता राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको छैन ।

    अर्काेतर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए । त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो । यस्तो अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ । जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ ।

    त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए । पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन । जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ ।

    २०४०/०४/२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३/१०/१९ उल्लेख गरिएको छ । रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन् ।

    उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ । पछि सरकारी ढड्डाहरुमै जन्ममिति सच्याएको प्रष्ट देखिन्छ । सेनाको भर्नामा उमेरहद कटेपछि यसरी उमेर नै सच्याइएको आशंका गरिएको छ ।

    सेनाको सिटरोल र पछिल्ला सर्टिफिकेटमा भने उनको जन्ममिति २०२३/१०/१९ कायम गरिएको छ । जाजरकोट प्रशासन कार्यालयमा सेटिङ मिलाएर उनले पछिल्लो नागरिकतामा आफु अनुकुल जन्ममिति राखेको प्रष्ट देखिन्छ ।

    उमेरमा कैफियत प्रष्ट देखिने भएपछि जाजरकोट प्रशासन कार्यालयमा सेटिङ मिलाएर उनले यसरी जन्ममिति कीर्ते गरेर नागरिकता लिएका हुन् । बिद्यालय, सुपिङ क्याम्पस तथा त्रिभुवन विश्वबिद्यालयको रेकर्डमा समेत उनको जन्ममिति त्यतीबेला २०२१ नै राखिएको छ ।

    उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ ले प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र जन्ममिति फरक पर्न गएमा सच्याउने सुविधा पनि दिएको थियो । तर, त्यसविपरीत शक्तिको बलमा पुरानो रेकर्डमा केरमेट गरेर सिग्देलले जन्ममिति कीर्ते गरेको प्रमाणहरु बाहिरिएका छन् ।

    २०४३ सालमा नेपाली सेनामा भर्ना भएका सिग्देल वास्तविक उमेरका आधारमा २१ वर्ष नाघ्ने भएपछि त्यतीबेला नै जन्ममिति सच्याएर भर्ना भएका थिए । पछि नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा फरक विवरण भएपछि उनले प्रतिलिपि निकाल्ने क्रममा थप बदमासी गरेको देखिन्छ ।

    जन्ममिति मात्र होइन जन्मस्थल समेत दुई नागरिकतामा फरक–फरक विवरण छ । रुपन्देहीबाट बनाएको नागरिकतामा उनको जन्मस्थल रुपन्देहीको सिद्धार्थनगर–७ उल्लेख छ भने जाजरकोटबाट प्रतिलिपि लिंदा कपिलवस्तु उल्लेख गरिएको छ ।

    यसरी चार थरी जन्ममिति भएका र नियमविपरीत जन्ममिति कीर्ते गरेको गम्भीर आरोप लागेका रथी सिग्देललाई सरकारले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउन लागेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौबाट अवकाश हुने भएपछि सैनिक नेतृत्व परिवर्तन हुँदैछ । जसमा उनै विवादास्पद सिग्देल यतीबेला प्रमुख दाबेदार छन् ।

    यसअघि यस्तै विवादमा रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डे राजीनामा दिन बाध्य भएका थिए । सिग्देलमाथि पनि छानविनको माग भएपछि तत्कालिन रक्षामन्त्री पूर्णबहादुर खड्कासँग सेटिङ मिलाएर छानविन रोकाएका थिए । पछि प्रधानसेनापति भइसकेपछि बर्खास्त गर्दा सेनाकै छविमा असर पर्न सक्ने भन्दै अहिले नै छानविनबाट टुंगो लगाउनुपर्ने आवाज सेनाभित्र पनि उठ्दै आएको छ ।

    गृह मन्त्रालय र अख्तियारले छानविनमा ढिलाई गरेपछि पछिल्लो समय राज्य व्यवस्था समितिमा समेत उजुरी परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्म प्रमाणसहित उजुरी परिसकेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार