काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई रिहा गरिएको हो ।
ललितपुर पहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।
धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लिएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।
नागरिकता सम्बन्धी विषयमा सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीमा कुनै सोधपुछ नै नगरी अदालतबाट पूर्जी लिएर पक्राउ गरिएको थियो ।
जेठ ८ गते मंगलबार पक्राउ परेका उनलाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जेठ ११ गते हिरासतबाट प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर, आवश्यक परीक्षण सुविधा नभएको कारण देखाएर उनलाई काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचार आवश्यक पर्ने भएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
Leave a Reply