काठमाडौं । कपाल झर्न रोकिने, कपाल नफुल्ने ग्यारेन्टी भन्दै चिकित्सकीय मान्यता विपरीत भ्रामक बिज्ञापन गर्ने श्रीकेश तेलले उपभोक्तालाई चरम ठगी गर्दैआए पनि राज्यका सरोकारवाला निकाय मौन छन् ।
उपभोक्ता ठगी रोक्नका लागि स्थापित बाणिज्य बिभाग नेतृत्वबिहीन छ । सामाजिक संजाल, टेलिभिजन लगायतका संचारमाध्यममा चिकित्सकीय मान्यतालाई समेत चुनौती दिंदै कपाल झर्न रोक्ने, नयाँ कपाल उमार्ने, टाउको चिलाउन रोक्ने, चायाँ हटाउने, सिल्की, बलियो र कालो बनाउने ३२ जडिबुटीयुक्त तेल भनेर दैनिक करोडौंको उत्पादन बिक्री गर्दा राजस्व अनुसन्धान विभाग र औषधि ब्यवस्था विभाग समेत रमिते बन्न पुगेका छन् ।
३२ जडिबुटी के–के मिसाइएको छ र त्यो मिसाएपछि कपाल झर्न रोक्ने हुन् भनेर कुनै निकायबाट प्रमाणित नगरी भ्रामक विज्ञापन गर्दा पनि सम्बन्धित निकाय मौन छन् ।
सामाजिक संजालमा सामान्य राजनीतिक बिषयमा प्रतिक्रिया जनाउँदा जनतालाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रालय र मातहतका प्रहरी फोर्स समेत यस्तो नांगो ठगीमा किन मौन छन् ? गम्भीर प्रश्न खडा भएको छ ।
श्री केश तेलको उत्पादन र बिक्री बितरण गर्ने टीकाराम बुढाथोकीसँग श्रीकेश तेल लगाएपछि कपाल झर्न रोक्ने ग्यारेन्टी कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले गोलमटोल जवाफ दिंदै आएका छन् । जवकी चिकित्सकले समेत सतप्रतिशत रोग निको पार्ने ग्यारेन्टी गर्न सक्दैनन् ।
एउटा कम्पनीको ठगी मौलाउँदा अर्को कम्पनीले यसकै सिको गरी रोगले ग्रस्त र बिभिन्न अस्पतालमा उपचार गराइरहेका नागरिक समेत भ्रमित भई यस्ता उत्पादन किनेर प्रयोग गर्न थालेका छन् ।
श्रीकेश तेलले भ्रामक विज्ञापन गरी ठगी गर्न थालेपछि अरु विभिन्न तेल उत्पादन गर्ने कम्पनीले पनि बजारमा भटाभट भ्रामक विज्ञापन गर्दै बिक्रीबितरण गर्न थालेका छन् ।
बैज्ञानिक परीक्षण विना नै एउटा कोठामा बोतलमा भरेर आकर्षक प्याकेजिङ र सेलिब्रेटीलाई राखेर कपाल झर्न रोकिने भ्रमपूर्ण बिज्ञापनमा झुक्किएर महंगो मूल्यमा श्रीकेश तेल प्रयोग गरेको खण्डमा झन् ठूलो समस्या निम्तिन सक्ने औषधि ब्यवस्था विभाग आयुर्वेद शाखाका प्रमुख डा. रुपेन्द्र पुरीले बताए । यस्ता भ्रामक बिज्ञापन गर्नेमाथि उपभोक्ता ऐन अनुसार पनि कारबाही हुने उनले बताए ।
श्रीकेश तेलको उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले कम्पनी दर्ता भएको पुष्टि गरे पनि उत्पादन अनुमतिका लागि आयुर्वेद विभाग, औषधि ब्यवस्था विभाग लगायतका कुनै पनि निकायबाट अनुमति लिएको छैन । कम्पनी दर्ताकै आधारमा उत्पादन गर्न पाइँदैन । औषधिजन्य उत्पादन गर्नका लागि औषधि ब्यवस्था विभागको अनुमति चाहिन्छ, जुन श्रीकेश तेलले लिएको छैन । विभागका प्रवक्ता रुपेन्द्र पुरीले नै अनुमति नलिएको बताए ।
श्रीकेश तेलले कपाल उमार्ने कुनै पनि वैज्ञानिक आधार देखिंदैन । अहिले तेल जति बिक्री भएको छ, कलाकारहरूलाई प्रचार गर्न लगाई उपभोक्ताहरुलाई भ्रममा पारी बिक्री वितरण गरेको पाइएको छ । यसरी ठगी धन्दा चलाउनेलाई नियमनकारी निकायले कारबाही नगर्नु आश्चर्यको बिषय हो ।
कस्मेटिक सामानका नाममा रोग निर्मूल हुने औषधीय गुण भएको भ्रमपूर्ण बिज्ञापन गर्दै उक्त तेल उत्पादन गर्ने कम्पनी र संचालकलाई हदैसम्मको कारबाही हुनु्पर्ने राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय आयुर्वेदको बदनाम गर्ने र भ्रमपूर्ण विज्ञापन गरी उपभोक्ता ठग्ने कार्यले निरन्तरता पाइरहेको घटनालाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ । चाँडै नै नीतिगत रुपमा यस्ता कम्पनीहरुमाथि कारबाही गर्नका लागि प्रक्रिया अगाडि बढाउने मन्त्रालयका एक अधिकारी बताउँछन् ।
श्रीकेश तेल उत्पादन गर्ने सप्तऋषि आयुर्वेद कम्पनीका संचालक हुन् टीकाराम बुढाथोकी । बुढाथोकीले श्रीकेश तेल लगाए सबै कुरा ठीक हुने खालको भ्रामक विज्ञापनमा पूर्व राष्ट्रपतिदेखि कालाकारसम्मको फोटो राखी सर्वसाधारणलाई ठगी गर्दैआएका छन् ।
हरेक बोतलको तीन हजारसम्म असुली गरेर जोडतोडका साथ टेलिभिजनदेखि अनलाइन मिडिया, पूर्व राष्ट्रपति, कलाकार र हरेक सामाजिक सञ्जालमा विज्ञापन गरेर सर्वसाधारणलाई ठगी गरिरहेका छन् ।
२–३ सय रुपैयाँको तेललाई ३२ जडिबुटीयुक्त भनेर भ्रामक विज्ञापन गरी उपभोक्ता ठगी गर्ने गरेको सूचना राजस्व अनुसन्धान विभागमा पुगेपछि विभागका अधिकारीहरुले समेत यसलाई वार्गेनिङको भाँडो बनाए ।
राजस्व अनुसन्धान विभागका यसअघिका महानिर्देशक नवराज ढुंगानालाई प्रभावमा पारी केस ढिसमिस पारिएको स्रोतको दावी छ ।
विभागका महानिर्देशक ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएसँगै राजश्व अनुसन्धान विभागले श्रीकेश तेलमाथि भित्रभित्रै छानविन अगाडि बढाएको छ । विभागका एक अधिकारीले भने–‘प्रारम्भिक छानविनमै २० करोडभन्दा बढी छली गरेको भेटिएको छ । बील पनि अधिकांश नक्कली रहेको पाइएको छ । यस बारेमा आन्तरिक राजश्व विभागले पनि छानविन गरिरहेको छ ।’
श्रीकेशको राजश्व छली, भ्रामक विज्ञापन र ठगीका विषायमा कम्पनीका सञ्चालक बुढाथोकीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
Leave a Reply