नवलपरासी । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको छ ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसद बस्नेतसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको हो।
बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ।
सांसद बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन् । सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपैँया बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ।
सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धाबाट देखिएको छ ।
बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन्।
प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ।
Leave a Reply