काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्यका लागि पहलकदमी लिने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो।
कांग्रेसले सहकारीहरूको बचत हिनामिना, दुरूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको छ।
कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेकै संलग्नता रहेको भन्दै छानबिनको दायरामा ल्याउन माग गर्दै आएको छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसके पनि कार्यादेश टुंगो लाग्न सकेको छैन।
कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमै विवाद छ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ।