Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहिया पक्राउबारे रास्वपाले भन्यो – सञ्चारमाध्यम सौदाबाजीका अस्त्र बने राज्य जाग्नुपर्छ

    सिरोहिया पक्राउबारे रास्वपाले भन्यो – सञ्चारमाध्यम सौदाबाजीका अस्त्र बने राज्य जाग्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 675
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्ने बताएको छ ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा रास्वपाका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।



    महामन्त्री ढकालले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे ।



    सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।

    रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो। नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं। नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस्। सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस्। अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्।’

    रास्वपाले विधिको शासनको सौन्दर्य हो कानुन भन्दामाथि कोही हुँदैन भन्ने भएको उल्लेख गरेको छ।

    रास्वपाले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको पनि बताएको छ। रास्वपाले विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति पार्टीको उच्च सम्मान रहेको बताएको छ।

    तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा अस्वीकार्य रहेको बताएको छ।

    जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।

    सिरोहियाले भने सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले आफुमाथि प्रतिशोध साँधिएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार