Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका एक एसएसपी र ८ इन्स्पेक्टरले लगाए फुली

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका छन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राई तथा प्राविधिक प्रहरी निरीक्षकहरू सरीता केसी, सोनिम महत्तो, शैलेन्द्र कुमार सिंह, गणेश कुमार पाण्डेय, बलदेव बडु, तिर्थ बहादुर थोकर, राजन बहादुर बुढाथोकी र हिमाल खड्का रहेका छन् । पदोन्नति भएकामध्ये प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्‍वास व्यक्त गरे ।

नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै प्रविधिको प्रयोगले अपराधमा बढ्दो सूचनाको दुरूपयोग जस्ता चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई सहज भएको उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षा एवम् प्रमाणमुखी अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राईले उपलब्ध स्रोत साधनको उपयोग गरी आ-आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेहीताका साथ ठोस् प्रतिफल दिने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077