काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पान को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे।
बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारत मात्र होइन,अर्को छिमेकी मुलुक बङ्गलादेशले समेत नेपालको बिजुली लैजानेगरी छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरे।
विद्युत् निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए ।
Leave a Reply