काठमाडौं । विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ दशमलव ४ ओभरमा १३० रनमा समेटियो।
नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिए भने गुलशन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो। नेपालका लागि अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे। कुशलले १० ओभरमा आउट हुँदासम्म ३८ रन जोडेका थिए। दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेका थिएनन् ।
Leave a Reply