कास्की । पोखराको प्राइम सहकारीको ठगीमा उपसचिवसहित तीन कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । कर्मचारीले घुस लिएर सहकारीको अवैध कारोबारमा साथ दिएका थिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको छानविनमा तीन कर्मचारीको संलग्नता रहेको भन्दै उनीहरूमाथि समेत कारबाहीका लागि प्रहरीमा सिफारिस भएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले तत्कालीन रजिष्ट्रार उदय पराजुली, सहकारी विभाग काठमाडौंका शाखा अधिकृत सन्देश प्रसाद जोशी र नायब सुब्बा कमल पोखरेलको संलग्नता पुष्टि भएको हो ।
पराजुलीले ३० लाख तथा अधिकृत जोशी तथा नासु पोखरेलले सात लाख ५० हजार घुस लिएर सहकारीको हिनामिना लुकाएका थिए । सहकारीका कर्मचारीहरूले नै बयानको क्रममा यो तथ्य खुलाएपछि उनीहरू पनि प्रहरी अनुसन्धानमा तानिएका छन् ।
प्रहरीले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्व अध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
यो ठगीमा साथ दिने उपसचिव पराजुली यसअघि पोखराको मित्रमिलन सहकारीको ठगी मुद्दामा पक्राउ परी हाल थुनामै छन् । मित्रमिलन सहकारीको क्षेत्र विस्तार गर्दा उनले एक करोड रुपैयाँ घुस खाएका थिए ।
नियमन गर्नुपर्ने सहकारी कार्यालयका कर्मचारीले घुस खाएर सहकारीको अनियमितता लुकाउँदा हाल लाखौँ जनताको अरबौँ रकम सहकारीमा डुबेको छ ।
Leave a Reply