काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुने प्रक्रियामा रहेको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।
सञ्चारमन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्मा दर्ता भएको जानकारी दिइन् ।
उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्मा पेस गर्ने तयारी रहेको बताइन् ।
मन्त्री शर्माले छाता कानुनका रूपमा आमसञ्चार ऐन, बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायको रुपमा आम सञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच पनि बताइन् ।
Leave a Reply