Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा जमानत जफत हुँदा पनि अध्यक्ष नेपाल भन्छन्–नेकपा एसले जनताको मन जित्दै गएको छ

काठमाडौं । बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।

सोमबार दिउँसो सकिएको मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए। जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो।

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने कम्युनिष्ट पार्टीले जनताको मन जित्दै गएकोमा समाजका केही प्रवृत्तिलाई पोलेको बताइरहेका छन् ।

सोमबार पार्टीनिकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री बन्छन् कि भनेर त्यस्ता प्रवृत्तिलाई पोल्ने गरेको बताएका हुन्।

कार्यक्रममा नेपालले भने–‘कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आएको छ। हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस् । त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रधानमन्त्री बन्न भन्दा देश विकासको सवालमा चिन्तित रहेको बताए। उनले भने–‘कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जान चिन्तित छ कि, मन्त्री प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेको छ कि । ती लोभीपापीहरूको कुरा हो। इमानदार मान्छेहरूको होइन।’

तर आफ्नो पार्टीसम्बद्ध मान्छेले जिम्मेवारी पाएको खण्डमा काम गरेर देखाउने दाबी नेपालले गरे। राम्रो काम गर्नुपर्छ भन्ने हुटहुटी हुनुपर्ने र एकीकृत समाजवादीको कार्यकर्तामा रहेको उनले बताए।

‘राम्रो काम नभइरहेको कुराले हामीलाई पोल्नुपर्छ। अरू भन्दा हामी भिन्न छौं भनेर हामीले देखाउन सक्नुपर्छ। यसअर्थमा हामी सत्ताका लागि होइन,’ उनले भने–‘सत्ता सत्ताका लागि होइन, चुनाव चुनावका लागि होइन। यी सबै देश र जनताका लागि हो। समाजमा परिवर्तन र विकासका लागि हो।हामीले गर्ने हो भन्नेकुरामा प्रष्ट हुन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077