एजेन्सी । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजमलाई फेरि पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ ।
पीसीबीका अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् ।
बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको हो। शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् ।
विश्वकप २०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए।
भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो ।
व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाएका थिए ।
बाबरले कप्तानि छाडेपछि ट्वान्टी-२० तर्फ शाहीन शाह अफरिदी र टेस्टतर्फ शान मसूदलाई कप्तान बनाइएको थियो ।
Leave a Reply