काठमाडौं । अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट मारिएका धनुषाका दिलीप महतोको परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।
महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै उनको परिवारले गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन्। ६ बुँदे मागसहित गृह मन्त्रालयमा लामिछानेलाई भेटेर दिलिपका परिवारका सदस्यहरुले ज्ञापनपत्र बुझाए।
धनुषाको मिथिला नगरपालिका स्थित घर नजिकै रहेको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा २०७६ पौष २५ गते घाइते बनाई दिलिपलाई क्रसर संचालकले खोलामै टिपरले किचेर हत्या गरेका थिए।
उक्त घटनामा धनुषाले जिल्ला अदालतले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ। सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ।
उक्त फैसलाले आंशिक मात्र न्याय प्राप्त भएको भन्दै दिलिपका परिवारले बांकी ४ जनालाई पनि कारबाही दायरामा ल्याउन माग गरेका छन्।
ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरु संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भान्जा शुभम गृह मन्त्रालय पुगेका थिए।
Leave a Reply